ghar sansar

संविधान चोकमा राप्रपाको शालिक पुनस्र्थापन फुस्स

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरको प्रतिष्ठान बनाएको संविधान चोकमा राजा महेन्द्रको शालिक पुनस्र्थापनमा ठूलो धक्का लागेको छ ।राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका केन्द्रीय नेताहरुलाई बोलाएर शालिक पुनस्र्थापन गर्ने राप्रपाको तयारी राजनीतिक दल र स्थानीय प्रशासनको सहयोग नपाएपछि पुनस्र्थापन कार्य रोकिएको छ ।

बिहीरबार विहान ११ बजे सब्जीरोडस्थित पार्टी कार्यालय नजिक राखिएको आम सभा अघि संविधान चोकमा राजा महेन्द्रको शालिक राख्ने राप्रपाको तयारी थियो । स्थानीय प्रशासनले विहानैदेखि राप्रपाका नेता कार्यकर्तालाई संविधान चोकसम्म जान नदिने गरी सबै बाटामा सुरक्षाकर्मी तैनाथ गरेको थियो ।

lotus institite

संविधान चोक पुग्ने सबै बाटा बन्द गरेपछि प्रशासनले दिउँसो घोषणा गरेको निषेधित क्षेत्रले राप्रपालाई झन अप्ठेरोमा फसेको थियो । संविधान चोक र त्यस आशपासका क्षेत्रमा सात दिनसम्मका लागि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।

राप्रपाले स्थानीय प्रशासनलाई सर्बदलीय सहमति विना जबरजस्ती शालिक नराख्ने आश्वस्त पारे पनि विहानैदेखि बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका थिए । राप्रपाले सुरक्षाकर्मीलाई झुक्याएर शालिक राख्न सक्ने र त्यसबाट अप्ठेरो अवस्था आउने चिन्ताले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

सात दिनसुम्म संविधान र चोक र आशपासका क्षेत्रमा पाँच जना भन्दा बढीले भेला भएर कार्यक्रम गर्न पाउने छैन । स्थानीय प्रशासनले शालिक राख्न राजनीतिक मतभेद भएकाले शान्ति सुरक्षाका लागि निषेधित क्षेत्र घोषणा गर्न पर्ने अवस्था आएको जारी आदेशमा उल्लेख गरेको छ ।

राप्रपाका भीमदत्त नगर अध्यक्ष करन पालले राप्रपा नेता कार्यकर्ता र समर्थक सबैले जबरजस्ती रुपमा शालिक राख्न सकिने अवस्था भए पनि सर्बदलीय सहमतिको आशमा लचकता देखाएको बताए ।

‘आज हामीलाई सबै जनताको चाहना पूरा गर्न नसकिएकोमा दुःख लागेको छ, हामी चाहन्थ्यौ आज विहानसम्म पनि स्थानीय सरकार र प्रशासनले लचकता देखाउँछ भनेर भन्ने, तर झनै कठोर भएर निषेधाज्ञासम्म लगायो’ उनले भने,‘ राप्रपाका सबै समर्थक र हामी गएर नसकिने थिएन र पनि संयम हुँदै सम्मानका साथ नै अनावरण गर्नु पर्नेमा राप्रपा विश्वास राख्दछ । राजा महेन्द्रको शालिक तयार भएर महेन्द्रनगर पुगिसकेको छ, उचित समयमै त्यहि स्थानमै सबै दल तथा सबै नगरबासिकै उपस्थितिमा राख्नेछौ ।’

राप्रपाले शालिक राख्न सर्बदलीय सहमतिका लागि भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयसित केही दिनदेखि सघन छलफल गरेको थियो । ती सबै छलफलमा सहमति नजुटेपछि राप्रपा जबरजस्ती शालिक पुनस्र्थापन गर्ने कार्यबाट पछि हट्न बाध्य भएको हो ।

daimond public

राप्रपाले शालिक पुनस्र्थापन गर्ने तयारी थालेपछि ८ राजनीतिक दल र ती दल सम्बद्ध विद्यार्थी संगठनले राजा महेन्द्रको शालिक पुनस्र्थापन कार्य संविधान र व्यवस्था विरोधी हुने भन्दै स्थानीय सरकार र प्रशासनलाई रोक्न सामूहिक रुपमा दबाव दिएका थिए ।

राजनीतिक दलहरुले भीमदत्त नगरपालिकालाई संविधान चोकमा जनआन्दोलनको म्यान्डेट अनुसार गणतन्त्र स्तम्भ राख्न आग्रह गरेको थियो । त्यसपछि भीमदत्तले शालिक राखिने स्थामा नेपालको झण्डा गाडि दिएको थियो ।

नगरपालिकाले राष्ट्रिय झण्डा राखेपछि राप्रपालाई शालिक राख्न थप कठिनाई आएको नेताहरु बताउँछन् । झण्डा राखिएपछि राप्रपाका नेताहरुले शालिक राख्ने रणनीतिबारे थप छलफल गरेका थिए ।

राप्रपाले बिहीबार शालिक पुनस्र्थापनका लागि ५ लाख ५० हजार खर्च गरी बनाइएको अर्ध कदको शालिकलाई केही दिन काठमाडौबाट महेन्द्रनगर ल्याएको थियो । अष्ठधातुको यो शालिकलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबाट अनावरण गर्ने तयारी गरिएको थियो ।

राप्रपा कञ्चनपुरले भीम वाटिकामा सहिद भीमदत्त पन्तको शालिक तोडफोड गरेपछि संविधान चोकमा राजा महेन्द्रको शालिक पुनस्र्थापन गर्ने घोषणा गरेको थियो ।

मंसिर ८ गते गणतन्त्र विरुद्ध सडक प्रदर्शनमा उत्रिएको राप्रपाले सहिद पन्तको शालिक तोडफोड गरेको थियो । शालिक तोडफोडपछि राप्रपाका १८ नेता कार्यकर्ता पक्राउ गरी सार्वजिनक अपराधको मुद्दा लागेपछि राजाको शालिक पुनस्र्थापनलाई प्रतिष्ठा बनाइएको थियो ।

राप्रपाले राजा महेन्द्रले महेन्द्रनगरमा बस्ती विस्तार गरेको योगदानको कदरका लागि शालिक पुनस्र्थापन गर्न पर्ने तर्क गरेको छ । २०६२÷०६३ को जन आन्दोलनको अन्तिमतिर आन्दोलनकारीले राजा महेन्द्रको शालिक तोडफोड गरी हटाएका थिए । शालिक तोडफोड गरिएको झण्डै दुई दशकपछि राप्रपा शालिक बनाएर पुनस्र्थापन गर्न अघि बढेको हो । राप्रपाले शालिक पुनस्र्थापनमा जन समर्थनका लागि मदनचोकमा हस्ताक्षर संकलन गरेको थियो ।

राप्रपाका नगर अध्यक्ष पालले जन आन्दोलनपछि शालिक पुनस्र्थापनका लागि सुरुदेखि प्रयास गरिए पनि अहिले अनुकूल अवस्था बनेकाले तयारी थालिएको बताउँछन् । ‘प्रयास सुरुदेखि गरिएको हो, अहिले माहौल बन्दै थियो, त्यही भएर राख्न खोजेका हौ’ नगर अध्यक्ष पालले भने ।

राप्रपा आम सभामा अध्यक्ष लिङ्देन सहितका नेताहरुले राजाको शालिक पुनस्र्थापन गरेर छाड्ने दाबी गरेका छन् । अध्यक्ष लिङ्देनले शालिक पुर्नस्थापनाका ८ राजनीतिक दलले छाती फराकिलो गर्नु आव्हान गरेका छन् । राजतन्त्र सहितको हिन्दू राज्य पुनस्र्थापनको माग गर्दै उनीहरुले राजा महेन्द्रको शालिक स्थापना गरेरै छोड्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...