
राजा महेन्द्रको प्रत्यक्ष शासनको सिको गर्दे ज्ञानेन्द्रले पनि प्रत्यक्ष शासन गर्न सत्ता हातमा लिए पछि भएको ०६२÷६३ सालको जनआन्दोलनको बलले राजाहरुका शालिक मात्र ढलेन, २४० वर्षसम्मको राजतन्त्र नै ढाल्यो । जनआन्दोलनले ढालेका शालिक एक दशकपछि राजावादीहरुले पुनःस्र्थापित गर्ने जमर्को देश भरी नगरेका होइनन् र केही ठाउँमा शालिक राख्न पनि सफल भएका छन् । शालिक राख्न खोजेपछि केही ठाउँहरुमा दोहोरो भिडन्त पनि भएका छन् । प्रहरीले फारिङ नै गर्नु पर्ने अवस्था पनि सृजना भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबार संविधान चोकमा राजा महेन्द्रको शालिक पुनस्र्थापित गर्ने सबै तयारी गरे पछि कञ्चनपुरमा पनि मुठभेडको अवस्था सृजना भएको हो ।
राप्रपाले पूर्व निर्धारित कार्यक्रम अनुसार भीमदत्त नगरपालिका – ४ स्थित संविधान चोकमा राजा महेन्द्रको सालिक राख्न लागेको जनाए पछि राप्रपाले घोषणा गरेस“गै कञ्चनपुरका ८ राजनीतिक दलले विरोध जनाएका थिए । कांग्रेस, एमाले, माओवादी सहितका दलले संविधान विपरित सालिक राख्न लागिएको भन्दै विरोध जनाएका थिए । जसका कारण महेन्द्रनगरमा राजा महेन्द्रको सालिक अनावरणका क्रममा मिुठभेड हुने आशंकाले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । महेन्द्रनगरमा पनि मुठभेडको अवस्थामा तरंगित भएको छ । तर राप्रपाले राजतन्त्रलाई पुनरावृत्ति गराउने देखेको सपना कहिले पूरा हुन सक्ने देखिदैन ।
मुलुक पुनसंरचनासहित अगाडि बढिरहेको स्थितिमा परिवर्तन नचाहने प्रतिगामी शक्तिहरु फेरि टाउको उठाउदैछन् । मुलुक धर्म निरपेक्षतामा गएको छ । मुलुक संघीयतामा कायम भएको छ । राजवादीहरुलाई राजानै चाहिएको हो भने जनताबाट अनुमोदित हुनु पर्छ । जनताले अनुमोदन गरेका राजनीतिक शक्तिहरुसंग पैठेजोरी खोज्नु भन्दा जनताको मन जितेर राजतन्त्र फर्काउने वा शालिक राख्ने काम जे गर्दा नि हुन्छ । मरिसकेको शरीरमा प्राणको संचार गछौ भन्दै तम्सिएर मात्र पुग्दैन । त्यसका लागि जनताको साथ र समर्थनको आवश्यकता हुन्छ । राप्रपाले पनि यो व्यवस्थालाई स्वीकार गरि सकेकोले हचुवाको भरमा नभएर यस्तो विषयलाई गम्भीररुपमा विश्लेषण गरिनु आवश्यक छ । हिन्दु राज्यको पुनःवहाली गराउने र राजसंस्थाको स्थापना गराउने योजनाअनुसार यतिबेला जुर्मुराएका समुहले मात्र यो कुरो सम्भव हुदैन ।
धर्मको नाममा राजनीति गर्ने र हिन्दूको नाममा जनता उस्काउने राजा फर्काउने कुरो आम नेपालीले बुझेको विषय हो । जनता गणतन्त्रको दिशामा अभ्यस्त भइरहेकोबेला केही सीमित वर्गको चाहना पुरा गर्नका लागि मुलुकमा जे मन लाग्यो त्यो गर्न मिल्दैन । देशमा गडबडी मच्चाउने र अस्थिरतातिर धकेल्ने काम कसैले पनि गर्नु हुदैन । गणतन्त्र पक्षधर सबै परिवर्तनगामी शक्तिहरु एकजुट भएर संविधानको कार्यान्वयनमा लाग्न जरुरी छ । गणतन्त्रवादी शक्ति विभाजनको अवस्थालाई मध्यनजर गर्दै प्रतिक्रियावादीहरु जुरमुराउने कोशिस गरीराखेका छन् । जसरी बगेको खोला फर्कदैन, त्यसैगरी परिवर्तनको गति निरन्तर प्रगतिको पथमा अगाडि बढ्छ पछाडि फर्कदैन ।
