अनाथालयलाई सृजनात्मक सहकारीको आर्थिक सहयोग, मेयर बोगटीले गरे हस्तान्तरण

महेन्द्रनगर । भीमदत्त नगरपालिका ११ गड्डाचौकीस्थि सृजनात्मक बचत तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरले समाज कल्याण अञ्चल बाल अनाथालयलाई आर्थिक सहयोग गरेको छ ।

सहकारीले बर्सेनी अनाथालयलाई सहयोग गदै आएकोमा यस वर्ष पनि सहकारीको १४ औं वार्षिक साधारण सभामा सहयोग गरिएको छ ।

साधारण सभाको उद्घाटन कार्यक्रममा अनाथालयलाई २५ हजार ३ सय १० रुपैँया नगद सहयोग गरिएको छ । साधारण सभा उद्घाटन समारोहका प्रमुख अतिथि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई सहयोग रकम हस्तान्तरण गरे ।

सहकारीका अध्यक्ष मदन सिह क्षेत्रीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा अध्यक्ष क्षेत्रीले सहकारीका सबै शेयर सदस्यबाट प्रति महिना २ रुपैँयाका दरले रकम संकलन गरी अनाथालयलाई सहयोग गरिएको बताए । उनका अनुसार सहकारीले आर्थिक वर्ष २०७३÷०७४ देखि अनाथालयलाई सहयोग गर्दै आएको छ ।

अनाथालय सञ्चालनमा सहयोग पुगोस भनेर सहकारीले सहयोग गर्दै आएको उनले बताए । गत वर्ष २३ हजार १ सय १२ रुपैँया सहयोग गरिएको थियो ।

सहकारीमा हालसम्म १ हजार १ सय १० जना शेयर सदस्य पुगेका छन् । सृजनात्मक बचत तथा सहकारी संस्था २०६६ मा सञ्चालन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर बोगटीले सहकारीले अनाथालयलाई सहयोग गरी ठूलो पुण्यको कार्य गरेको भन्दै प्रशंसा गरे ।

सम्बन्धित
Loading...