
महेन्द्रनगर । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) भीमदत्त नगर समितिले स्थानीय सरकारले लिँदै आएको व्यवसाय कर खारेज गर्न माग गरेको छ ।
भीमदत्त नगर प्याब्ससनको शनिबार पाँचौ वार्षिक साधारण सभाले संघ र स्थानीय दुबै सरकारलाई दोहोरो कर तिर्दै आएकाले भीदमदत्त नगरपालिकालाई व्यवसाय कर खा्रेज गर्न माग गरेको हो ।
कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालित शिक्षण संस्थाले भीमदत्त नगरपालिकालाई ३ हजारदेखि ५ हजारसम्म व्यवसाय कर तिर्दै आएका छन् । यस अघि १५ हजारसम्म लिइदै आएको व्यवसाय कर प्याब्सनको दबावपछि घटाइएको थियो । कम्पनी रजिष्ट्रारमा दर्ता भएर आन्तरिक राजश्व कार्यालयमा शिक्षण संस्थाले व्यवसाय कर बुझाउँदै आएका छन् ।
प्याब्सनका नगर अध्यक्ष गौरीदत्त भट्टले संघ र स्थानीय सरकार दुबैले शिक्षण संस्थाबाट दोहोरो कर लिँदै आएकोले खारेजीको माग गरिएको बताए । ‘हामी दुई सरकारलाई कसरी दोहोरो कर बुझाउन सक्छौ, संघ र स्थानीय सरकारलाई बुझाउन सक्दैनौ, त्यही भएर खारेजीको माग गरेका छौ’ उनले भने ।
नगर अध्यक्ष भट्टले कञ्चनपुरमा भीमदत्त बाहेक अन्य स्थानीय तहमा भने व्यवसाय कर नभएको बताए । प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दको प्रमुख आतिथ्यमा साधारण सभा गरिएको छ ।
साधारण सभामा भीमदत्त नगर क्षेत्रका दुई दर्जन बढी विद्यालय सहभागी भएका छन् । साधारण सभामा संघीय शिक्षा ऐन, दोहोरो कर खारेजी, बहाल कर मिनाहा लगायत संस्थागत विद्यालयका हक अधिकार लगायतका विभिन्न विषयमा छलफल गरिएको छ ।
प्याब्सन केन्द्रीय सल्लाहकार चन्दले संघीय शिक्षा ऐन संस्थागत विद्यालय विरुद्ध भएकाले त्यसलाई सुधार गरेर मात्रै कार्यान्वयन गर्न दिइने बताए ।
कार्यक्रममा प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष दिपकराज चालिसे, प्याब्सन केन्द्रीय सदस्य प्रेम सिह पुजारा, पूर्व केन्द्रीय सदस्य रुद्रराज पनेरु, सुदूरपश्चिम वरिष्ठ उपाध्यक्ष शमरङ्ग बहादुर चन्द, उपाध्यक्ष केशबदत्त भट्ट, कोषाध्यक्ष भवानसिह विष्ट, सदस्य प्रेमबल्लभ भट्ट, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्ट, उपाध्यक्ष महादेब प्रसाद भट्ट, कोषाध्यक्ष केशवराज जोशी, प्याब्सन सुदूरपश्चिमका पूर्व सल्लाहकार बिर्ख बहादुर मल्ल, एन प्याब्सन भीमदत्त नगर अध्यक्ष दिपक चन्द लगायतका सहभागी भएका छन् ।
भीमदत्त नगर प्याब्सनका उपाध्यक्ष उपेन्द्र प्रसाद जोशीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव गणेश जोशी वार्षिक र कोषाध्यक्ष महादेब विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा वक्ताहरुले नगर अध्यक्ष भट्टले संस्थालाई संस्थाको लक्ष्य अनुसार सञ्चालन गरी नेतृत्व दिएको भन्दै प्रशंसा गरेका छन् । भीमदत्त नगर प्याब्सन सचिव गणेश जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
