नेपाली युवायुवतीहरुमा विदेश पलायनको लहर चलेको छ । उनीहरुले भविष्यको खोजीमा विदेशिएका छन् । जीवनको महत्वपूर्ण समयलाई विदेशी भूमिमा पसिना बगाउनु परि राखेको छ । आर्थिक लोभमा विदेशिनु र धनपैसा कमाएर सपना साकार पर्ने सपना बोकेका केही युवाहरु बाकसमा आउन भने केहीले घरखर्चको जोहो गरेर फर्किने गरेका छन् । देशमा रोजगारीको वातावरण नभए पछि नेपाली युवाहरु खाडी मुलुक र भारतीय भूमिमा चौकीदारी, लेवर, अन्य कामहरुमा पैसा कमाउने आस बोकेर पलायन भैराखेका छन् । नेपाली युवाहरुको पहिलो गन्तव्य भनेको भारत थियो । भारतका विभिन्न शहरहरुमा ज्याला मजदुरी गरेर फर्किने गरिन्थ्यो ।
अहिले भारतीय भूमिमा रोजगारी पाउन समस्या भएर खाडी मुलुक र पश्चिमा–पूर्वीया देशहरुमा दलालको सहाराले ऋणको भारी बोकेर जान बाध्य भएका छन् । २००७ सालको राजनीतिक आन्दोलनदेखि कांग्रेसले गरेको सशस्त्र आन्दोलन, तत्कालीन मालेले गरेको सशस्त्र झापा आन्दोलन, ०३६ को युवा विद्यार्थी आन्दोलन हुँदै ०४६ को ऐतिहासिक जनआन्दोलन र ०६२÷०६३ को जनआन्दोलनमा नेपाली युवाहरुकोे ठूलो बलिदान र योगदान गरेको छ । नेपाली युवाकै आन्दोलनको बलबुतामा नेपालको अढाइसय वर्ष लामो राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भएको हो । यसरी २००७ देखि ०६२ को जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन हुँदै अरु थुप्रै आन्दोलनहरुको अग्रभागमा रहेर नेपाली युवाहरुले आन्दोलन र बलिदान गरेका छन् । तर तिनै युवाहरु मुलुकमा परिवर्तन आएपछि पनि विदेश पलायन हुन बाध्य छन् ।
राज्यसत्ताको आमुल परिवर्तन गर्ने र युवाहरुको भविष्य पूर्ण रुपले सुनिश्चित गर्ने लक्ष्यका साथ ती युगान्तकारी क्रान्ति र आन्दोलनहरु भएका थिए । तर, ती मुख्य आन्दोलनकर्ता युुवाहरुको भविश्य पहिलेभन्दा अहिले झन् कष्टपूर्ण बन्दै गएको छ । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा देशले फड्को मार्ने थियो । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुन सकेको भए युवाहरुले विदेश पलायन हुनु पर्ने एिन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ ।
नेपाल सरकारले विश्वका १ सय १० मुलुकमा आप्mना कामदार पठाउन खुला गरेको छ । तर विदेशिएका युवाहरुको रोजगारको ग्यारेन्टी र व्यक्तिगत सुरुक्षाको प्रत्याभुति नहुँदा हजारौं युवाहरु विदेशमा अलपत्र पर्ने गरेका छन् र अहिलेसम्म विदेशको भूमिमा करिब ५ हजार बढी नेपाली युवाहरुको अकालमा मृत्यु हुन पुगेको छ । सरकारले विदेश पठाउन लाखौ खर्च गर्ने युवालाई स्वदेशमा केही रकम लगानी गरेर उनीहरूलाई अगाडि बढ्ने निति अबलम्बन गरेको भए युवाहरुको विदेश पलायन हुनबाट केही हदसम्म रोक्न सकिन्थ्यो । तर सरकार युवाहरुले विदेशबाट पठाएको रेमिटेन्सबाट देश चलाइ राखेको छ । देशको निर्माण गर्ने युवाले नै हो र युवाशक्तिलाई कुनै पनि हालतमा कम दिन सक्नु पर्छ भन्ने तर्फ सरकारको ध्यान पुग्दैन । त्यसैले नेपाली युवाहरू किन विदेश पलायन हुँदै छन् । त्यसलाई रोक्न युवामुखी विभिन्न कार्यक्रम तर्जुमा गरेर तत्काल लागू गर्न तर्फ सरकारको ध्यान जान जरुरी छ ।