
सन्तोस पन्त
महेन्द्रनगर । भन्सार कार्यालयले साइकल केयरिङ्गबाट समान आयात गर्न नदिएपछि केयरिङ्गकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । झण्डै चार सय हाराहारीमा केयरिङ्गकर्ताले सोमबार भन्सार विरुद्ध प्रदर्शन गरेका छन् ।
सोमबार केयरिङ्कर्ताहरुले भन्सार कार्यालय र सरकार विरुद्ध नारा लगाउँदै साइकलमा महेन्द्रनगर बजार परिक्रमा गरेका छन् । ३० वर्षदेखि भन्सार काटी समान ल्याउने गरेकोमा भन्सार कार्यालयले पछिल्लो तीन महिनादेखि भन्सार काट्न छाडेपछि क्यारिङ्कर्ता सडकमा उत्रिन बाध्य भएको आन्दोलनमा सहभागी नन्दा पहरीले बताइन ।
‘भन्सार काटी समान ल्याउन लागेको वर्षौ भयो । एकासी भन्सार कार्यालयले भन्सार काट्न छाडेपछि हामीलाई अप्ठ्यारो भयो’ पहरीले भनिन ‘गरिब, एकल महिलाले काम गर्दै घर चलाइरहेका थिए । भन्सार काट्न छाडेपछि क्यारिङ गरि घर खर्च चलाउने काम सरकारले खोस्यो ।’
रोजगारी खोसिएको भन्दै सयौँ सडकमा उत्रिएका क्यारिङ्कर्ताहरुले आफूहरूको लडाइ सरकारसँग रहेकोले आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताएका छन । आफूहरूले सम्बन्धित सरोकारवाला निकायमा ज्ञापन पत्र बुझाउँदा समेत मागको सुनुवाइ नभएको क्यारिङ्कर्ताको दुखेसो छ ।
नेपाल स्वरोजगार संघका केन्द्रीय सदस्य उमेश पाण्डेयले सरकारले केयरिङ्गकर्ताको माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने बताए ।
नेपाल ट्रेड युनियन महासंघ र महासंघ आबद्ध घटकहरुले आन्दोलनलाई साथ दिएका छन् । गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले भने साइकल क्यारिङ गर्नेहरूको भन्सार नकाट्ने कानुनी प्रावधान रहेकोले भन्सार नकाटिएको बताए ।
साभार : अत्तरिया अनलाइन
