महेन्द्रनगर । बचकर्ताको करोडौ बचत अपचनपछि बन्द भएको शिव शिखर सहकारी संस्था लि.बाट जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा पनि ठगिएका छन् । समन्वय प्रमुख बोहराले शनिबार सहकारी संस्थाको कार्यक्रममा आफू शिव शिखरबाट ठगिएको सार्वजनिक गरेका हुन् ।
सफल बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा उद्घाटन समारोहका प्रमुख अतिथि बोहराले शिव शिखर सहकारीमा दुई लाख डुबेको बताएका हुन् ।
‘सहकारीका समस्या छन्, तपाईहरु बुझेर कारोबार गर्न होला, भर्खर अघि त्यो शिब शिखर सहकारीको कुरा भयो, मेरो पनि त्यहाँ दुई लाख डुबेको छ’ उनले भने,‘म जस्ता धेरैको त्यहाँ पैसा डुबेको छ ।’
समन्वय प्रमुख बोहराका अनुसार उनले चिनजानका कर्मचारीको आग्रहमा सहकारीमा दुुई लाख बचत गरेका थिए । चिनजानका ती आफन्तले आफूलाई सहयोगका लागि आग्रह गरेपछि आफूले रकम बचत गरेको बताए ।
‘बहिनी नाता पर्ने एक जना नातेदारले मकहाँ आएर सहयोगको आग्रह गरिन्, मैले बचत संकलन गरे मेरो जागिर हुन्छ भन्यो, त्यसपछि मैले मैले अरुलाई पनि भनेर बचत गरे’ उनले भने,‘त्यसपछि फिक्समा राख्दा बढी ब्याज पाइन्छ भनेर भनेपछि त्यसै गर्दा अहिले त्यो पैसा नै डुब्यो ।’
समन्वय प्रमुख बोहराले चिनजानका नातेदारको सहयोगका लागि भलाई सोचेर आफू सहकारीबाट ठगिन पुगेको उल्लेख गरे ।
शिव शिखर सहकारीले कञ्चनपुरमा मात्रै ३२ करोड बढी बचत अचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । दुई वर्ष अघि शिब शिखर सहकराी सञ्चालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयले सहकारीका केही पदाधिकारी र कर्मचारीमाथि अनुसन्धान गरि रहेको छ ।
कार्यक्रममा उनले सहकारीलाई उत्पादनमुलक क्षेत्रका लगानी लगाउन र किसानका कृषिजन्य वस्तु खरिद गरी कारोबार गर्न पर्ने आवश्यकता औल्याए ।
‘अस्ति दशैं तिहारमा माला लगायौ, त्यो मालाका लागि दिल्ली र बरेलीमा फूल आयो, त्यसपछि म गाउँतिर जाँदा किसानका खेतबारीमा मलमली फूल देखे’ समन्वय प्रमुख बोहराले भने,‘सहकारीले त्यो फूल किनि दिएको दिएको बाहिरबाट फूल आउने थिएन, हाम्रो पैसा बाहिर जाने थिएन, यसमा सहकारीले सोच्नु पर्छ ।’