महेन्द्रनगर । नेकपा एमालेले ईश्वरी प्रसाद खरेल सहित तीन जनालाई सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने भएको छ । एमालेले आइतबार खरेल सहित कैलालीकी सावित्री घिमिरे र कैलालकी रामचन्द्र जोशीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तीन जनामध्ये खरेल अन्य क्लष्टरबाट उम्मेदवार बन्न लागेका हुन् । घिमिरे महिला र जोशी अपाङ्गता तथा अल्पसंख्यक क्लष्टरबाट उम्मेदवार बन्न लागेका हुन् ।
माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको अघिल्लो दिन उम्मेदवार टुङ्गो लागेको हो ।
एमाले सुदूरपश्चिम प्रदेश कमिटीले खरेल सहित १० जना आकाँक्षीको नाम एमाले केन्द्रीय कमिटीमा सिफारिश गरेको थियो ।
राष्ट्रिय सभा सदस्यका उम्मेदवार खरेल एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य हुन् । एमाले कञ्चनपुरको नेतृत्व गरि सकेका उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालिन महेन्द्रनगर नगरपालिका(भीमदत्त नगरपालिका) को उप मेयर निर्वाचित भएका थिए । त्यस अघि २०४९ मा उनी भीनपा १८ को वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
एमालेमा विद्यार्थी राजनीतिबाट आएका खरेल एमाले अध्यक्षतात्मक प्रणालीमा गएपछि पहिलो अध्यक्ष निर्वाचित भएका थिए । सहकारी आन्दोलन सहित विभिन्न सामाजिक आन्दोलनमा सक्रिय खरेल एमालेमा स्पष्ट वक्ताका रुपमा परिचित छन् ।