महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीको विदाई गरिएको छ । केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत गौलीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको थियो ।
नगरपालिका बुधबार साँझ गौलीको विदाई कार्यक्रम गरिएको छ । विदाई अघि उनी नगर सभा कक्षमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएका थिए । उनले नगरपालिकाको गत आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
प्रमुख प्रशासकीय अधिकृत गौलीको अपरान्ह ४ बजे विदाई कार्यक्रम राखिएकोमा सार्वजनिक सुनुवाईका कारण ढिलो भएको हो ।
स्थानीय सरकार सञ्चालनका अनुभूवी प्रमुख प्रशासकीय अधिकृत गौली गत आर्थिक वर्षको सुरुमा हाजिर भएका हुन् । अघिल्लो आर्थिक वर्षको चैतमा भीमदत्तको उनको सरुवा भए पनि जेठमा भएको स्थानीय तह निर्वाचनका कारण उनी नयाँ आर्थिक वर्षमा मात्रै हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गौलीले असहज अवस्थामा पनि भीमदत्तको कुशल प्रशासनिक नेतृत्व गरे । उनले सरुवा भएपछि पनि भीमदत्तको १४ औं नगर सभा गराएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गौलीले कर्मचारी अभाव भएपछि आफ्नो कार्यकक्ष छाडेर आफैं कार्यालयका शाखा उप शाखा धाएर सेवाग्राहीका कामकाज गर्दै आएका थिए । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका कर्मचारी निलम्बनमा परेर समस्या आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गौलीले ती सबै असहजतालाई सामना गरी प्रशासनको नेतृत्व गरेका छन् । सबैसित सहकार्य र समन्वय गर्ने सक्ने स्वभावका गौलीले पछिल्लो पटक भीमदत्तबाट सरुवाका लागि पटक पटक मन्त्रालय धाएका थिए ।
भीमदत्तको प्रशासनिक नेतृत्व बाहेक उनले यस अवधिमा मेयर उप मेयरका तर्फबाट समेत धेरै ठाउँमा जवाफ दिएका छन् । भीमदत्तको १३ औं नगर सभामा उनले कार्यपालिका सदस्यलाई सम्झाएर चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका थिए ।
नगरपालिकाबाट विदाई हुन अघि भने उनी निलम्बित कर्मचारीलाई काममा लगाएको विषयले विवादमा तानिएका छन । भीमदत्तको १४ औै नगर सभामा निलम्बित कर्मचारीलाई काममा लगाएको विषय उठेको थियो । त्यसमा उनले कर्मचारी अभावका कारण काममा लगाउनु पर्ने बाध्यता भएको प्रष्टीकरण दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत गौलीको स्थानमा महेश बहादुर बम नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेका छन् । दार्चुलाको दुहु गाउँपालिकामा कार्यरत बम केही दिन अघि नै विदाई गरी आई सकेका छन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत बम पनि स्थानीय सरकार सञ्चालनका अनुभवी मानिन्छन् ।