भीमदत्तमा नयाँ हाकिम हाजिर

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नयाँ प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बम हाजिर भएका छन् । दार्चुलाको ब्यास गाउँपालिकाबाट केही दिन अघि बमको भीमदत्त नगरपालिका सरुवा भएको थियो । यस अघि भीमदत्तमा याम नारायण गौली प्रमुख प्रशासकीय अधिकृत थिए । उनको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएको छ ।

नयाँ प्रमुख प्रशासकीय अधिकृत बम भीमदत्त नगरपालिकाका वासिन्दा हुन् । २०४८ मा भीमदत्तबाट सरकारी सेवा सुरु गरेका बम तीन दशकपछि भीमदत्तमा प्रमुख प्रशासकीय अधिकृत भएका छन् ।

प्रमुख प्रशसकीय अधिकृत बम जागिरपछि सबैभन्दा बढी स्थानीय तहमा बसेका छन् । उनी ३२ वर्षे जागिरे जीवनमा १८ वर्ष स्थानीय तहमा बसेका छन् । ९ वर्षसम्म शिक्षा मन्त्रालय बसेका उनी दोधारा चाँदनी, कृष्णपुर र बेलौरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भइ सकेका छन् ।

संघीय संरचना अनुसार २०७४ को स्थानीय तह निर्वाचनपछि बम तत्कालिन जिल्ला विकास समितिबाट बेलौरी नगरपालिका सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत भएका हुन् । यस बीचमा उनले केही महिना इलाका प्रशासन कार्यालय टिकापुरमा पनि जिम्मेवारी सम्हालेका छन् ।

शुक्रबार भीमदत्तमा हाजिर भएपछि बमले जनप्रतिनिधि र कर्मचारी सबैको साथ सहयोग लिएर नगरपालिकाका कामकाज गर्ने बताए ।

सम्बन्धित
Loading...