
कबर्ड हलमा आइतबारदेखि भीमदत्त नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, चार दर्जन विद्यालय सहभागी हुँदै

गोमती पाल
महेन्द्रनगर । भीमदत्त नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु हुने तयारी गरिएको छ । कबर्ड हलमा हुने प्रतियोगितामा नगरपालिका क्षेत्रका सामुदायिक र संस्थागत गरी ४८ विद्यालयले भाग लिन लागेका छन् ।
भीमदत्त नगरपालिकाको शिक्षा शाखाका अनुसार सहभागी हुने विद्यालयमा सामुदायिक विद्यालय २६ छन् । गत वर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ४६ विद्यालय सहभागी भएका थिए ।

भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले आइतबार कबर्ड हलमा प्रतियोगिता सुरु हुने बताए । ‘कबर्ड हलमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ, नगर क्षेत्रभित्रका ४८ विद्यालयले सहभागिताका लागि नाम दर्ता गराएका छन्’ नगर अध्यक्ष चन्दले भने ।
प्रतियोगितामा सहभागी हुने सबै विद्यालय माध्यमिक तहसम्मका छन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता निर्देशिका अनुसार माध्यमिक तहका विद्यालयले मात्रै प्रतियोगितमा भाग लिन पाउछन् ।
प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ५४ कास्य पदका लागि विद्यालयहरुले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट हुने नगर अध्यक्ष चन्दले बताए ।
भीमदत्तले यस अघि दुई पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जितेको छ । यस पटक पनि जिल्ला स्तरीय प्रतियोगिता जित्ने गरी नगर स्तरीय खेलकूद प्रतियोगितामा खेलाडी छनौट हुने आशा गरिएको अध्यक्ष चन्दले बताए ।
‘यस अघि दुई पटक जिल्ला स्तरीय शिल्ड जिति सकेका छौ, यस पटक जितेपछि शिल्ड भीमदत्तको हुन्छ’ उनले भने,‘अहिले त्यसै अनुसारको तयारी गरी अघि बढेका छौ ।’
प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने भएका छन् । यी खेलमा एथ्लेटिक्स अन्र्तगत १३ विधा, भलिबल र कबड्डी छात्र र छात्रा दुबै तथा मार्सल आर्टसमा कराँते र तेक्वान्दोको खेल हुने छन् । तेक्वान्दो र कराँतेका ६÷६ इभेन्टस समावेश गरिएको छ ।
तेक्वान्दो र कराँते यस वर्ष पहिलो पटक राष्ट्रपति रनिङ्ग शिल्डमा समावेश गरिएका हुन् । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगर खेलकूद समितिका अध्यक्ष चन्दको संयोजकत्वमा १५ सदस्यीय व्यवस्थापन तथा निर्देशन समिति गठन गरिएको छ ।
यसैगरी शिक्षा शाखा प्रमुख कलावति मिश्र भट्टको संयोजकत्वमा प्रतियोगिताको सचिवालय गठन गरिएको छ । शिक्षा शाखाका प्राविधिक सहायक दिपेन्द्र विष्ट सचिवालमा सदस्य सचिव छन् ।
राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद भन्ने नारा सहित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुन लागेको हो । विद्यार्थीहरुलाई पठनपाठन बाहेक विद्यार्थीहरुको खेल प्रतिभा उजागार गर्न प्रतियोगिता आयोजना हुने गरेको नगर अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा विजेता विद्यालय र विद्यार्थीलाई नगद पुरस्कार सहित शिल्ड प्रमाणपत्र वितरण गरिने शिक्षा शाखा प्रमुख भट्टले बताइन् ।
प्रतियोगिता उद्घाटनमा सहभागी विद्यालयहरुको मार्चपास, साँस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम राखिएका छन् । मार्चपासमा उत्कृष्ठ हुने विद्यालयलाई पुरस्कार वितरण गरिनेछ । मार्चपासका उत्कृष्ठ विद्यालय छनौटका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीको तीन सदस्य समिति गठन गरिएको छ ।
प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरुले कृष्णपुर नगरपालिकामा हुने जिल्ला स्तरीय प्रतियोगितमा सहभागी हुने छन् । गत वर्ष बेलौरी नगरपालिकामा प्रतियोगिता भएको थियो ।
