
महेन्द्रनगर । स्वास्थ्यकर्मी विरेन्द्र प्रसाद तिवारीले सुरु गरेको ह्वाइट हाउस संरक्षण अभियानलाई विभिन्न क्षेत्रका व्यक्तित्वले साथ दिएका छन् । तिवारी मेडिकल हलका सञ्चालक तिवारीले ह्वाइट हाउस सरसफाई तथा सम्भार समिति बनाएर संरक्षण अभियान सुरु गरेका छन् । माघ १ गते तिवारीले अभियान सुरु गरी हरेक शनिबार ह्वाइट हाउसमा सरसफाई गर्न थालिएको छ ।
जिल्ला समन्वय समिति मातहतको पूरानो भवन दुई दशकदेखि वेवारिशे भएपछि तिवारीले भवन संरक्षण अभियान अघि बढाएका हुन् । दशरथ चोकमा अवस्थित भवन प्रयोग नभएपछि झ्याल ढोका सबै मक्किएका छन् । भवनको रङ्ग खुइलिएर कालो बनि सकेको छ ।
‘त्यो बाटो भएर यताउता जाँदा मलाई भवन देखेर मनमा एकदमै नराम्रो खटि रहन्छ, जुन बेला म त्यो छात्राबासमा जान्थे, त्यति बेला एकदैम राम्रो थियो, अहिले आएर खत्तम भएको देख्छु’ तिवारीले भने,‘त्यही भएर मेरो यो भवन देख्ने बित्तिक्कै अर्कै हुन्छ, अहिले केही त गर्न सकिन्छ भनेर त्यहाँ सरसफाईको काम सुरु गरिएको छ ।’
चार दशक अघि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस उनी साथीहरुसित भेटघाट गर्न ह्वाइट हाउस जाने गर्थे । त्यति बेला ह्वाइट हाउस सिद्धनाथ बहुमुखी क्याम्पसको छात्राबास थियो ।
‘म त्यो भवनमा साथीहरुसित भेटघाट गर्न गई रहन्थे, कहिलेकाही त राति पनि त्यही बस्थे’ तिवारीले विगत सुनाउँदै भने,‘त्यति बेलाको त्यस्तो भवन यस्तो होला भनेर सोचिएन, अहिले त देख्दा मन दुख्छ ।’
ह्वाइट हाउस सरसरफाई तथा सम्भार समितिको अगुवाईमा शनिबार सरसफाई र छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख दुर्गा बोहरा सहित प्राध्यापकहरु डा. टेकराज पन्त, चुडामणी जोशी, पूर्व शिक्षक नरेन्द्र भण्डारी, पूर्व उप मेयर यज्ञराज चटौत लगायतका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।
सुरक्षाकर्मीहरुले भवन प्राङ्गणमा सरसफाई गरी समितिलाई सहयोग गरेका छन् । सरसरफाईपछि सहभागीहरुले समन्वय प्रमुख बोहरासित भवन सञ्चलन सम्बन्धि छलफल गरी सुझाव दिए ।
उनीहरुले ह्वाइट हाउसलाई यथास्थितिमा मर्मत सम्भार गरी संग्राहलय वा पुस्तकालयका रुपमा सञ्चालनमा ल्याउन समन्वय प्रमुख बोहरालाई सुझाव दिए । ह्वाइट हाउस महेन्द्रनगर बजारको सबैभन्दा पूरानो दुई भवनमा पर्ने भएकाले यसलाई इतिहासका रुपमा संरक्षण गर्नु पर्ने उनीहरुको जोड थियो ।
‘यो भवन र अर्को बजारको हरिश भट्टजीको घर मात्रै त्यो बेला दुई तले भन्ने कार्यक्रममा आयो, त्यस कारण यो इतिहास हो, यसलाई भत्काएर नयाँ बनाउँदा भन्दा युसलाई मर्मत सम्भार गरी संग्राहालय वा पुस्तकालयमा बनाउँदा ठिक हुन्छ भनेर हामी सबैले समन्वय प्रमुखज्यूलाई सुझाव दिएका छौ’ तिवारीले भने ।
समन्वय प्रमुख बोहराले नयाँ भवन बनाउन डिपिआर तयार भई सकेको र त्यसमा भूमिगत पार्किङ्ग सहितका संरचना बनाएर भवन बनाउने उल्लेख गरिएको जानकारी दिए । त्यसमा सहभागीहरुले विमति जनाएर संग्राहालय वा पुस्तकालय बनाउन सुझाव दिएका हुन् ।
जिल्ला समन्वय समितिले नयाँ भवन बनाउन १६ लाख खर्च गरी डीपिआर बनाएको छ । सरसफाईमा सहभागी इन्जिनियर गोरख बहादुर सिंहले भवनको पर्खाल १४ इन्चको भएकाले अर्को तला बनाउँदा पनि फरक नपर्ने बताए ।
दुई दशकदेखि वेवारिशे बनेको भवन दोस्रो जनआन्दोलन सकिन अघिसम्म चर्चामा थियो । दुई वर्षसम्म तत्कालिन अञ्चलाधिश महेन्द्रमाथ ब्यथितले यो भवन प्रयोग गरेका थिए ।
दोस्रो जन आन्दोलन सफल भएपछि ब्यथित लखेटिएपछि ह्वाइट हाउट हाउस प्रयोग गर्न छाडिएको हो । संघीय संरचना अनुसार तत्कालिन जिल्ला विकास समितिको कार्यक्षेत्र खुम्चिएपछि भवन प्रयोगमा आउन नसकेको समन्वय समितिका अधिकारीहरु बताउँछन् ।
शनिबार ह्वाइट हाउस सरसफाईमा सहभागी भएका भीमदत्त नगरपालिकाका पूर्व उप मेयर यज्ञराज चटौतले यो भवन २०२३ सालमा बनेको दावी गरेका छन् । तत्कालिन जिल्ला पञ्चायतका सभापतिको निवासको लागि भवन बनाएको थियो । यस भवनमा तत्कालिन पञ्चायत सभापतिहरु भज्जनलाल राना र लबरु राना थारुले निबास बनाएको पाइएको छ ।
पञ्चायत सभापतिको निवासका लागि बनेको भवन शिक्षालय, छात्रास, स्वास्थ्य कार्यालय र अञ्चालधीश कार्यालयसम्म बसाएर वेवारिशे अवस्थामा पुगेको छ । यस भवनमा कञ्चनपुरको सबैभन्दा जेठो बैजनाथ माध्यमिक विद्यालय र सिद्धनाथ विज्ञान क्याम्म्पस पनि सञ्चालन गरिएका थिए ।
सिद्धनाथ बहुमुखी क्याम्पसको छात्राबास, तत्कालिन जनस्वास्थ्यको कार्यालय र जिल्ला विकास समितिको स्थानीय विकास कोषको कार्यालय पनि यहीं भवनमा सञ्चालन गरिएका थिए ।
बैजनाथ माध्यमिक विद्यालयले भवन बनाउन थालेपछि विद्यार्थीहरुलाई ह्वाइट हाउसमा ल्याएर पढाएको हो । भीमदत्तका पूर्व उप मेयर चटौतले शनिबार आफूले २०२७ मा कक्षा ८ ह्वाइट हाउसमा पढेको बताए । उनलाई पूर्व प्रधानाध्यापक नरेन्द्र सिह भण्डारीले पढाएका थिए । शनिबार उनीहरु दुबै जना सरसफाईमा सहभागी थिए ।
बैजनाथपछि भवनमा सिद्धनाथ विज्ञान क्याम्पस सञ्चालन गरिएको थियो । त्यसपछि बहुमुखी क्याम्पसको छात्राबासका लागि भवन प्रयोगमा आएको हो । बहुमुखी क्याम्पसले आफ्नो छात्राबास बनाएपछि जनस्वास्थ्य कार्यालयले भवन प्रयोग गरेको थियो ।
दुई तले पुरानो भवनमा भारतको बरेली र नेपालमा बनेको इटाको प्रयोग गरिएको छ । बरेलीमा बनेका इटामा सन् १९६६÷१९६७ र नेपालका इटामा २०२६ उल्लेख गरिएको तिवारी बताउँछन् ।
ह्वाइट हाउसमा पढेका र छात्राबासमा बसेका विद्यार्थीहरु सरकारका उच्च पदमा पुुगेका छन् । ह्वाइट हाउसमा पढेका एनपी साउँद काँग्रेस केन्द्रीय सदस्य एबम् परराष्ट्र मन्त्री छन् । डा. मुकुन्दा शर्मा, डा. गुणराज लोहनी, पाइलट बेद उप्रेती, जर्नेल नरेश भट्ट, डा. किसनलाल भट्ट, डा. डिकरदेब भट्ट, डा. श्याम सुन्दर शर्मा, इन्जिनियर भुपेन्द्र भट्ट, तेजराज भट्ट लगायतले ह्वाइट हाउसमा पढेका हुन् ।
‘यो भवनले देशका लागि दक्ष जनशक्ति उत्पादन ग¥यो, यो भवनमा पढेका सबै देशको ठूलो पदमा पुगेका छन्’ तिवारीले भने,‘भवनको हालत देख्दा निकै दुःख लाग्छ, अब सबैले यसको संरक्षणमा साथ दिन आवश्यक छ ।’
माघ १ गते औपचारिक रुपमा हवाइट हाउस सरसफाई अभियान सुरु गर्न अघि तिवारीले ह्वाइट हाउस नजिकका सुरेश वष्टसित सहकार्य गरी प्रवेशद्वारमा भरिएको माटो हटाएका थिए । त्यसपछि उनले सरसफाई तथा सम्भार समिति बनाएर औपचारिक रुपमा संरक्षण तथा सरसफाईमा लागेका हुन् । त्यस अघिसम्म यो भवनमा प्रवेश गर्न पनि समस्या थियो । तिवारीका अनुसार भवनको प्राङ्गण घाँसपातले भरिएको थियो । कोठाहरु लागु औषध सेवन र अन्य अनैतिक कार्यका लागि प्रयोग गरिएका समान भेटिएका थिए ।
समितिमा तिवारी, विष्ट सहित मोहन थापा र नवराज भट्ट छन् । समितिलाई विस्तार गरी अघि बढने तिवारीले बताए । भवनमा सेतो रङ्ग पोतिएकाले ह्वाइट हाउस नाम दिइएको हो ।
जिल्ला समन्वय समितिले यस अघि पूर्व प्रमुख फैरु तामाङ्गको कार्यकालमा भत्काएर नयाँ बनाउन डीपीआर बनाएको हो । डीपीआर स्वीकृत नभएपछि तामाङ्गले नयाँ भवन बनाउन सकेन ।
अहिलेका समन्वय प्रमुख बोहरा पनि तामाङ्गको अनुसरण गरी नयाँ भवन बनाउन इच्छा देखाएका छन् । उनले भवन भत्काउन प्राविधिकलाई निरीक्षण गर्न लगाएका छन् ।
अहिले वेवारिशे ह्वाइट हाउसका तस्बिर सामाजिक सञ्जालमा भाइरल छन् । तिवारी भन्छन्,‘यो इतिहास हो, घर निको नै छ, डेन्टिङ्ग पेन्टिङ्ग गरेर राम्रो बन्छ भने नयाँ घर बनाउनु पर्ने आवश्यकता छैन, त्यही भएर हामीले यसलाई संग्राहलय वा पुस्तकाय बनाउनु पर्छ भनेर आग्रह गरि रहेका छौ ।’
