ghar sansar

खुला मञ्चमा यसरी हुँदैछ मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता तयारी, देशभरका १० टीम सहभागी, २४ खेल हुने

महेन्द्रनगर । खुला मञ्चमा आइतबारदेखि सुरु हुने तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले एक सातासम्म गर्ने प्रतियोगितामा तीन विभागीय सहित सात प्रदेशका गरी १० टीमले भाग लिँदै छन् ।

यस अघि दुई पटक कैलालीको धनगढीमा प्रतियोगिता आयोजना गरिएको थियो । यस पटक महेन्द्रनगर खुला मञ्चमा प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिताका लागि अहिले खुला मञ्चमा कोर्ट, प्याराफिट निर्माण लगायतका कार्य धमाधम भइ रहेका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकूद परिषद्ले कञ्चनपुर जिल्ला भलिबल संघसित प्रतियोगिता आयोजनाका लागि व्यवस्थापनमा साझेदारी गरेको छ । परिषद्सितको साझेदारी अनुसार संघले खुला मञ्चमा तयारी अघि बढाएको हो ।

‘प्रतियोगिता आइतबारदेखि सुरु हुन्छ, त्यसका लागि अहिले खुला मञ्चमा तयारी अघि भइ रहेको छ,’ कञ्चनपुर जिल्ला भलिबल संघका अध्यक्ष श्याम सिह मौनीले भने,‘प्रतियोगिता उद्घाटन अघि सबै तयारी पूरा गर्ने गरी अघि बढी रहेका छौ ।’

संघलाई प्रतियोगिता तयारीका लागि सेना, प्रहरी र सशस्त्र प्रहरीले साथ दिएको छ । भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट सहित संघका पदाधिकारी र सदस्य प्रतियोगिता तयारीमा सक्रिय रुपमा लागेका छन् । संघका सचिव उत्तम विष्टले सेना, प्रहरी र सशस्त्रले तयारीमा सहयोग गरि रहेको बताए ।

एक सातासम्म चल्ने प्रतियोगितामा २४ खेल हुने छन् । नक आउट लिग चरणका आधारमा उद्घाटन दिनदेखि माघ १८ गतेसम्म नकआउट चरणका खेलहरु हुने छन् । त्यसपछि प्रतियोगिताका अन्तिम दिन माघ २० गते र त्यसको अघिल्लो दुई÷दुई खेल हुने छन् ।

भलिबलका राष्ट्रिय प्रशिक्षक भट्टले राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले कञ्चनपुरको भलिबल खेलको विकास र प्रवद्र्धनमा ठूलो फाइदा हुने बताए । ‘कञ्चनपुर भलिबल खेलको उर्बर भूमि हो, यो प्रतियोगिताबाट खेलको विकास र प्रवद्र्धनमा सहयोग पुग्छ’ उनले भने ।

महेन्द्रनगरमा २०७९ पछि पहिलो पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन लागेको हो । यस अघि भलिबल संघको आयोजनामा २०७९ मा इण्डो नेपाल भलिबल प्रतियोगिता गरिएको थियो । खुला मञ्चमा गरिएको प्रतियोगितामा नेपाल र भारतका तीन÷तीन टीमले भाग लिएको थियो ।

त्यस अघि पञ्चायतकालमा २०४५ मा १४ अञ्चलको सहभागिता भलिबल प्रतियोगिता गरिएको थियो । ‘यी बाहेक अन्य प्रतियोगिता भएका छैनन्, यस पटक मुख्यमन्त्री कप आयोजना हुन लागेको छ’ प्रशिक्षक भट्टले भने,‘यसलाई सफल बनाउन सबै जिल्ला वासीको साथ र सहयोगको आवश्यकता छ ।’

तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता महेन्द्रनगरमा गराउन प्रशिक्षक भट्टले परिषद्सित पटक पटक लबिङ्ग गरेको भलिबल संघका पदाधिकारीहरुले बताए ।

परिषद्ले प्रतियोगिता सम्बन्धि जानकारी दिन गत महिना होटेल ओपेरामा गरेको पत्रकार सम्मेलनमा उनले प्रतियोगिता सफल पार्न सबैको साथ सहयोगको लागि आग्रह गरेका थिए ।

प्रतियोगितामा सहभागी हुने टीम अहिले बन्द प्रशिक्षणमा छन् । भलिबलका राष्ट्रिय खेलाडी नवराज धामीको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको टीम प्रतियोगितामा सहभागी हुँदैछ ।

यस अघिको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले प्रतियोगितामा च्याम्पियन बनेको थियो । भलिबलमा नेपाल पुलिस क्बल सहित त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्बल बलिया प्रतिस्पर्धीका रुपमा हेरिएका छन् ।

कञ्चनपुर जिल्ला भलिबल संघले प्रतियोगितामा सहयोगका लागि टिकट राखेको छ । संघले विद्यार्थीलाई २० र अन्यलाई ५० रुपैँया टिकट लगाएको हो ।

भलिबलका राष्ट्रिय खेलाडी निरुता ठगुन्ना र कलेजो प्रत्यारोपण गर्न पर्ने आर्मी क्लबकी खेलाडीलाई सहायोगका लागि टिकट शुल्क लगाएको भलिबलका प्रशिक्षक भट्टले बताए ।

भलिबलकी राष्ट्रिय खेलाडी छनौट भएकी निरुता ठगुन्ना र अर्का खेलाडीलाई सहयोग गरिनेछ । दार्चुलाकी ठगुन्ना पल्सर पिपुल्समा अवार्डको मनोनयमा परेकी खेलाडी हुन् । ‘सहयोग स्वरुप यो टिकट शुल्क लगाएका छौ, यो समान्य चिया खर्च जस्तै हो’ उनले भने ।

संघले प्रतियोगितामा टिकट शुल्कबाट संकलित रकमको कोष बनाएर सहयोग गर्ने जानकारी दिएको छ । खुला मञ्चमा दिउँसो १ बजे परराष्ट्र मन्त्री एनपी साउँदले प्रतियोगिता उद्घाटन गर्ने छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रतियोगिता समापन गर्ने छन् ।

संघले विभिन्न समिति गठन गरी तयारी गरि रहेको छ । संघका सचिव विष्टका अनुसार प्रशिक्षक भट्ट मञ्च व्यवस्थापन तथा प्राविधिकफाँट, भरत बहादुर चन्द टिकेट, गंगादत्त अवस्थी स्वयम् सेवक परिचालन, मानसिह रावत यातायात व्यवस्थापन, सचिव विष्ट सचिवालय व्यवस्थापन, अञ्जु जोशी अतिथि सत्कार, सत्येश बहादुर चन्द साँस्कृतिक व्यवस्थापन, रमेश केसी पार्किङ्ग र नवराज भट्टलाई मिडिया संयोजनको जिम्मेबारी दिइएको छ ।

प्रतियोगिताको विजेता टिमलाई नगद ४ लाख, उप विजेता दुई लाख र तेस्रोलाई एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान पाउने छन् । चौथो हुने टिमलाई सान्त्वना स्वरुप ५० हजार नगद पुरस्कार समेत प्रदान गरिनेछ ।

यसैगरी सेमिफाईनल खेलमा पाँच हजारका दरले म्यान अफ म्याचको पुरस्कार, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार, विभिन्न उत्कृष्ट ६ विद्याका खेलाडीलाई जनही १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगिताका लागि ८० लाख बजेट खर्च हुने अनुमान गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...