ghar sansar

भीमदत्त ६ मा कार्य वाहक दिने उप मेयरको निर्णयलाई मेयर स्तरीय भन्दै पठाएको खुलासा

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले मेयर सहभागी नभएको बैठकको निर्णयलाई नगर प्रमुख स्तरीय निर्णय भन्दै वडा सदस्यलाई कार्य वाहक जिम्मेवारी दिएको खुलेको छ ।

दुई दिन अघि भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीको अध्यक्षतामा केही वडा अध्यक्ष सहितको बैठक बसेर भीमदत्त नगरपालिका ६ का वडा सदस्य देबकी जोशीलाई कार्य वाहक जिम्मेवारी दिने निर्णय गरिएको थियो ।

उप मेयर अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयलाई प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बमले नगर प्रमुख स्तरीय निर्णय गरिएको भन्दै वडा सदस्य जोशीलाई कार्य वाहक जिम्मेवारी दिइएको भन्दै पत्र पठाएका थिए ।

बैठकमा सहभागी वडा सदस्यहरुका अनुसार उप मेयर जोशी सहित केही वडा अध्यक्षहरु बैठकमा सहभागी थिए । भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधन भएपछि कार्य वाहक वडा अध्यक्ष दिन नगरपालिका कार्यालयमा उप मेयरको अध्यक्षतामा बैठक बसेको थियो ।

वडा समितिका चार सदस्यबीच कार्य वाहक जिम्मेवारी दिने सहमति नभएपछि नगरपालिकामा छलफल गरिएको थियो । वडा सदस्यहरुका अनुसार कार्य वाहक वडा अध्यक्षमा जोशी सहित शारदा विक, लाली चन्द र दिपेन्द्र जोशी सबैले दावी राखेका थिए ।

चार सदस्यमा सहमति नभएपछि लाली चन्द र दिपेन्द्र जोशीले ज्येष्ठ सदस्य विकलाई कार्य वाहक दिन समर्थन जनाएका थिए । त्यसमा वडा सदस्य देवकी जोशीको विमति राखेर उनी विकलाई कुनै पनि हालतमा कार्य वाहक नदिने भन्दै नगरपालिका आएकी थिइन् ।

भीमदत्त नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११६ मिचेर वडा सदस्य जोशीलाई कार्य वाहक बनाएपछि चौतर्फी आलोचना भएको छ । वडा समितिका सदस्य दिपेन्द्र जोशीले सामाजिक सञ्जाल फेसबुकबाट एकलौटी रुपमा निर्णय गरिएको भन्दै असन्तुष्टि सार्वजनिक गरि सकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनमा वडा अध्यक्षको पद रिक्त भएमा वडा सदस्यमध्येहरुबाट छनौट गरी कार्य वाहक जिम्मेवारी दिने व्यवस्था छ । भीमदत्त नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले नदिएको अधिकार प्रयोग गरी वडा सदस्यलाई कार्य वाहक बनाएको हो । उप मेयर अध्यक्षताको बैठकबाट गरिएको निर्णयलाई नगर प्रमुख स्तरीय निर्णय भन्दै वडा सदस्य जोशीलाई कार्य वाहक दिइएको पत्र पठाइएको छ ।

उप मेयर अध्यक्षताको बैठकमा सहभागी भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन भट्टले केही वडा अध्यक्षले छलफल गरी कार्य वाहक दिएको बताएका थिए । उप मेयर अध्यक्षताको बैठकलाई आइतबार कार्यपालिका बैठकमा पेश गरी अनुमोदन गर्ने तयारी गरिएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनबाट भीनपा ६ का वडा अध्यक्ष सहित काँग्रेसका प्यानल निर्वाचित भएको थियो । २०४९ को स्थानीय निकाय निर्वाचनपछि पहिलो पटक काँगे्रस निर्वाचित भएको थियो । काँग्रेसका पूर्व वडा सभापति स्वर्गिय खड्काले ६ नम्बरमा कम्युनिष्ट किल्ला भत्काएका थिए ।

काँग्रेसका चार वडा सदस्यबीच कार्य वाहकमा सहमति नभएपछि उनीहरु दुई धारमा बाँडिएका छन् । भीमदत्तले कार्य वाहक जिम्मेवारी दिएकी जोशी वडामा एक्लै परेकी छन् । अन्य तीन वडा सदस्य कार्य वाहक जिम्मेवारीमा असन्तुष्ट छन् ।

निर्वाचन आयोगले चुनाव नगराएसम्म कार्य वाहक वडा अध्यक्षले जिम्मेवारी वहन गर्न पाउने छन् । निर्वाचन आयोगले ६ महिनाभित्रै चुनाव गराउनु पर्ने कानुनी प्रावधान छ ।

Himal dental
सम्बन्धित
Loading...