महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले पशु शाखाका अधिकृत मान बहादुर केसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर बेलौरीका मेयर पोतिलाल चौधरीको बाटो समातेका छन् ।
बेलौरीमा दोस्रो कार्यकाल मेयर जितेका चौधरीले यस अघि नै पशु सेवाका अधिकृत तारादत्त अवस्थीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर कार्यालय चलाउँदै आएका छन् । मेयर चौधरीपछि कृष्णपुरका मेयर ओझाले पनि पशु सेवाका अधिकृतलाई निमित्त प्रशासकीय अधिकृत बनाएका हुन् ।
कृष्णपुरमा पुश सेवाका अधिकृतलाई निमित्त प्रमुख बनाएपछि कार्यपालिका सदस्यले असन्तुष्टि पोखेका छन् । कृष्णपुर नगरपालिका २ का वडा अध्यक्ष साउँदले मेयर ओझामाथि कार्यकर्ता भर्तीका लागि पशु सेवाका अधिकृतलाई हाकिम बनाएको गम्भीर आरोप लगाएका छन् ।
वडा अध्यक्ष साउँदले निमित्त प्रमुख प्रशासकीय अधिकृत मान बहादुर केसीलाई हुन्छ बहादुर भन्ने भैसी डाक्टर भनेर सामाजिक सञ्जाल फेसबुकमा कटाक्ष गरेका छन् । उनले केसीलाई निमित्त प्रमुख बनाएर हेल्थ असिस्टेन्ट लगायतका पदमा मेयर ओझाले आफन्त र कार्यकर्तालाई भर्ती गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।
कृष्णपुरमा यस अघि पाँच वर्ष प्रशासनिक सेवा उप सचिवले प्रमुख प्रशासकीय अधिकृत भएका थिए । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि अहिले पशु सेवा अधिकृतलाई निमित्त प्रमुख बनाइएको हो ।
अघिल्लो कार्यकालमा प्रमुख प्रशासकीय अधिकृत नभएपछि केही महिना शिक्षा शाखाका उप सचिवलाई प्रमुख प्रशसाकीय अधिकृत बनाइएका थियो । शिक्षा शाखाका उप सचिवको अवकाश भएपछि नगरपालिकाका लेखा र पशु शाखाका सातौ तहका दुई अधिकृत छन् ।
वडा अध्यक्ष साउँदले सार्वजनिक रुपमा असन्तुष्टि पोखेपछि शुक्रबार नगर प्रवक्ता मोहन बस्नेतले कार्यालयमा पत्रकार सम्मेलन गरी केसीलाई क्षमताका आधारमा निमित्त बनाएको दावी गरे ।
उनले केसीसित प्रशासनिक अनुभव भए नभएकोबारे भने केही खुलाएन । पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेक पाण्डेय साउँद विरुद्ध आक्रामक भएका थिए । उनी प्रमुख प्रशासकीय अधिकृत केसी क्षमताका आधारमा भएको तर्क दिँदै मानमर्दन गर्न नहुने चेतावनी दिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित ओझाले अघिल्लो कार्यकालका सबै कमजोरी सुधार गरी कार्यालय सञ्चालन गर्ने प्रतिवद्धता गरेका थिए । उनले निर्वाचित भएपछि सबै कर्मचारीलाई कानुन विपरित कार्य नगर्न र गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएका थिए ।
बेलौरीमा दोस्रो कार्यकाल मेयर भएका चौधरीले पशु सेवाका अधिकृत चौधरीलाई अधिकृत बनाउन अघि धेरै पटक प्रमुख प्रशासकीय अधिकृत हेरेफेर भएका थिए ।
प्रशासन सेवाका उप सचिव आउन नमानेपछि उनले अवस्थी अघि प्रशासकीय अधिकृतलाई हाकिम बनाएर कार्यालय चलाएका थिए । प्रशासकीय अधिकृतको पनि सरुवा भएपछि पशु सेवाका अधिकृतलाई हाकिम बनाइएको हो ।
पत्रकार सम्मेलनमा प्रवक्ता वस्नतेले कर्मचारी वरियताका अधारमा दुई महिनाका लागि केसीलाई निमित्त दिएको जानकारी दिँदै लेखा अधिकृत ओझालाई आर्थिक क्षेत्रको अधिकार दिएपछि दोहोरो हुने भार पर्ने परी समस्या हुने बताए ।
स्थानीय सरकारको प्रमुख प्रशासकीय अधिकृत संघको कर्मचारी हुने व्यवस्था छ । त्यस अनुसार नगरपालिकामा उप सचिव र गाउँपालिकामा अधिकृत तहका प्रशासन सेवाका कर्मचारीलाई प्रमुख प्रशाकीय अधिकृत बनाउन सकिनेछ ।