महेन्द्रनगर । भीमदत्त नगरपालिकाले स्थानीय सरकार ऐन मिचेर कार्य वाहक अध्यक्ष बनाएपछि वडा सदस्य शारदा विक चुनाव नभएसम्म कार्यालय नजाने भएकी छन् । दुई वडा सदस्यले आफूलाई समर्थन गर्दार्दै पनि भीमदत्तका उप मेयर निलम लेखक जोशीले एकलौटी रुपमा वडा सदस्य देवकी जोशीलाई कार्य वाहक बनाएपछि विक उनको कार्यकाल भरि वडा कार्यालय नजाने बताएकी हुन् ।
भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधनपछि भीमदत्तका उप मेयर जोशीले मेयर पदम बोगटीको कार्यकक्षमा बैठक गरी वडा सदस्य जोशीलाई कार्य वाहक बनाएकी थिइन् । मेयर बोगटी सहभागी नभएको बैठकबाट गरिएको निर्णयलाई प्रमुख प्रशासकीय अधिकृत महेश कुमार बमले नगर प्रमुख स्तरीय भन्दै वडा सदस्य जोशीलाई कार्य वाहक दिएको पत्र पठाएका छन् ।
‘मलाई दुई सदस्यले त्यहीं मेयरको कोठामा भएको बैठकमा कार्य वाहक बनाऔ भन्यो, उप मेयरले मलाई तिमी सक्छौ कि सक्दैनौ भन्यो, मैले भने सक्छु, त्यसपछि तिमी विरामी छौ कसरी गर्छौ भन्यो, फेरि भने सक्छु, त्यसपछि तिमीलाई पढ्न लेख्न आउँदैन भन्यो, मैले भने आउँछ, के सबै पढेका लेखेका छन् भने,’ विकले भनिन्,‘त्यसपछि म बाहिर निस्के, एउटा फेरि बोलाएर सादा कागजमा साइन गर्न लगाइयो, त्यसको एक छिनपछि कार्य वाहक दिएको फोटो आइ हाले ।’
वडा सदस्य विकले आफू ज्येष्ठ सदस्य भएको र दुई सदस्यले पनि आफूलाई साथ दिँदा पनि उप मेयर जोशीले जातीयताका आधारमा कमजोर सोचेर आफूलाई कार्य वाहक आनाकानी गरेकाले जोशी कार्य वाहक भएसम्म वडा कार्यालय नजाने बताइन् ।
‘मलाई दुई सदस्यले त्यही वडा कार्यालयमा समर्थन गरेको थियो, पछि नगरपालिकामा पनि मलाई नै भन्यो’ उनले भनिन्,‘वडा कार्यालयमा यो शारदा दिदीलाई कार्यवाहक बनाउन दिन्न भनेर सन्तानको कसम खाएर नगरपालिका बोलाएर कार्य वाहक बनाइएको छ’ उनले भनिन्,‘त्यस कारण म यो कार्य वाहकसम्म वडा कार्यालय जाँदैन ।’
आफू काँग्रेसमा लामो समयदेखि आवद्ध भएकाले र आफलाई जातीय रुपमा हेपेर जिम्मेवारी दिन आनाकानी गरिएकाले त्यस विरुद्ध उभिने बताइन् ।
वडा कार्यालयमा बुधबार कार्य वाहकका लागि वडा सदस्यबीच छलफलमा सहमति नभएपछि लाली चन्द र दिपेन्द्र जोशीले विकलाई ज्येष्ठ सदस्य भएकाले कार्य वाहक बनाउन साथ दिएका थिए । उनीहरुले साथ दिएपछि कार्यालयबाट निस्केकी जोशीलाई अर्को दिन कार्य वाहक बनाइएको हो । जोशी भन्दा अन्य तीन वडा सदस्य सिनियर छन् ।
बुधबार वडा सदस्यबीच छलफल नभएपछि उनीहरुलाई नगरपालिका कार्यालय बोलाएर छलफल गरिएको थियो । छलफलमा उप मेयर सहित केही वडा अध्यक्षहरु सहभागी भएका थिए ।
भीमदत्तले कार्य वाहक दिने निर्णयलाई आइतबार कार्यपालिका बैठकबाट अनुमोदन गराउने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन मिचेर निर्णय गरिएको भन्दै केही कार्यपालिका सदस्यले अनुमोदन हुन नदिने बताएका छन् ।