समन्वय समितिका प्रमुख बोहरामाथि कारवाही गर्न कञ्चनपुर प्रशासनलाई अख्तियारको निर्देशन

महेन्द्रनगर । उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरामाथि कारवाही अघि निर्देशन दिएको खुलासा भएको छ ।

समन्वय समितिका प्रमुख बोहराले कार्यालयका कर्मचारीलाई आफ्नो व्यक्तिगत काममा लगाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धानमा आयोगमा परेपछि प्रशासन कार्यालयलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुस ४ गते प्रशासन कार्यालयलाई पत्र पठाएर समन्वय प्रमुख बोहरामाथि कारवाही गर्न निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि प्रशासन कार्यालयले जिल्ला समन्वय समितिको कार्यालयलाई उजुरी सम्बन्धि प्रतिक्रिया पठाउन पत्रचार गरेको बाहिर आएको छ । प्रशासन कार्यालयको प्रशासकीय अधिकृत उद्धव सिह कार्कीले पुस १७ गते समन्वय समितिलाई पत्र पठाएका थिए ।

पत्रमा सरकारी सेवाका कर्मचारीलाई व्यक्तिगत काममा लगाएको उजुरी सम्बन्धि प्रतिक्रिया पठाउन र रातो नम्बर प्लेटको मोटरसाइकललाई सेतो नम्बरको बनाउने प्रक्रिया अघि बढेकाले त्यसका लागि सम्बन्धित निकायमा गरिएको पत्राचारको प्रतिलिपी सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको छ ।

प्रशासन कार्यालयले समन्वय समितिलाई पठाएको पत्रमा समन्वय प्रमुख बोहराले कार्यालयका निम्न स्तरका कर्मचारीलाई आफ्नो घर र पसलको काममा लगाउने गरेको उल्लेख गरिएको छ ।

समन्वय समितिका सवारी चालक देब सिह महतालाई आफ्नो निजी कार चलाउन लगाएर आफ्नो व्यक्तिगत काममा लगाएको र उनलाई नियम विपरित काज जनाएर पोखरा मुस्ताङ भ्रमणमा लगेको उल्लेख गरिएको छ ।

प्रशासनको पत्रमा सवारी चालक महतालाई नियम विपरित भ्रमणमा लगेर काज जनाएपछि पत्रकारहरुले कार्यालयमा पुगेर सोधीखोजी गरिएको उल्लेख गरिएको छ ।

अख्यितारमा परेको उजुरीमा समन्वय प्रमुख बोहराले चालक महतालाई आफ्नो स्टुडेन्ट पसलका समान किन्न भारत पठाएको उल्लेख भएको प्रशासनले समन्वय समितिलाई पठाएको पत्रमा भनिएको छ ।

काँग्रेसका नेता बोहरा २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ४ मा वडा सदस्य जितेर समन्वय प्रमुख भएका हुन् । उनी त्यस अघि २०४९ मा भीनपा ४ को वडा अध्यक्ष भएका थिए ।

सम्बन्धित
Loading...