महेन्द्रनगर । सत्ता साझेदार नेपाली काँग्रेसले कञ्चनपुरमा समुदायमा काँग्रेस अभियान सुरु गरेको छ । काँग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार कञ्चनपुरका सबै स्थानीय तहमा सञ्चालन हुने गरी भीमदत्त नगरपालिकाबाट अभियान सुरुवात भएको छ ।
अभियान सञ्चालनका लागि काँग्रेस केन्द्रीय सदस्य सुशिला मिश्र भट्टले जिम्मेवारी पाएकी छन् । सोमबार महेन्द्रनगर आएकी भट्टले विहानदेखि अभियान सुरु भएको जानकारी दिइन् ।
‘काँग्रेस केन्द्रीय समितिले पुसमा बैठक गरी समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो, त्यस अनुसार नेताहरुलाई जिम्मेवारी दिएर आजदेखि अभियान सुरु भएको छ’ मंगलबार विहान पत्रकार भेटघाट कार्यक्रममा उनले भनिन्,‘आजबाट अभियान सुरु भयो, म भीनपा ४ को कार्यक्रममा भर्खर सुरु भएर आए, अब यो अभियान जिल्लाका सबै स्थानीय तहका सबै वडामा सञ्चालन हुन्छ ।’
काँग्रेस केन्द्रीय सदस्य भट्टले समुदायमा छलफल, बैठक, भेला लगायतका कार्यक्रम गरी जनताको समस्याबारे जानकारी लिने, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको कामको समीक्षा गर्ने र जनताको अपेक्षा संकलन गर्ने लक्ष्य लिएर अभियान सञ्चालन गरिएको बताइन् ।
‘हामी वडा वडामा गएर संवाद गर्छौ, सामाजिक सेवाको बारे छलफल गर्छौ, जनताको समस्या के छन, त्यसबारे जानकारी लिन्छौ, जनप्रतिनिधिले चुनावमा गरेको वाचा के कति पूरा गरेका छन्, छैनन्, चुनावपछि जनातको अपेक्षा के कति पूरा भए, त्यसबारे पनि छलफल गर्छौ’ उनले भनिन्,‘त्यहीं हल हुने खालका समस्यालाई त्यहीं पनि छलफल गरी हल गर्छाै ।’
माघ २४ गतेसम्म सञ्चालन हुने अभियानबाट आएका सबै सुझावलाई काँग्रेसको आगामी फागुनमा हुने विधान सम्मेलनमा पेश गरिने केन्द्रीय सदस्य भट्टले बताइन् ।
काँग्रेसले फागुन ७ गतेदेखि विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । ‘यो समुदायमा काँग्रेस अभियानबाट आएका सबै सुझावलाई विधान सम्मेलनमा पेश गरिनेछ, त्यसका लागि समुदायमा सबै व्यक्तिसित छलफल गरी वहाँहरुको अपेक्षा सुझाव लिनेछौ ।’
समुदायमा काँग्रेस अभियानमा समाजका प्रतिष्ठित व्यक्ति, विभिन्न राजनीतिक दलका पूराना नेता कार्यकर्ता र सार्वजनिक सेवा प्रवाह गर्ने निकाय सम्बद्ध व्यक्तिलाई विशेष प्राथमिकता दिएर छलफलमा सहभागी गराइने केन्द्रीय सदस्य भट्टले बताइन् ।
कञ्चनपुरका सबै ९२ वडामा अभियान सञ्चालन गरिने उनले जानकारी दिइन् । ‘यो अभियानमा हामी ९२ वडामा व्यक्तिका घर घरमा जान्छौ, शिक्षा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यक्तिलाई सहभागी गराएर सुझाव लिन्छौ’ उनले भनिन्,‘यसले काँग्रेसको विधान सम्मेनलबाट बन्ने नीतिलाई बलियो बनाउन सहयोग गर्नेछ ।’
अभियान अन्र्तगत सहिद परिवारलाई सम्मान गरिने कार्यक्रम राखिएको केन्द्रीय सदस्य भट्टले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
काँग्रेसको अभियानका लागि जिल्लामा केन्द्रीय सदस्य र प्रदेश समितिले स्थानीय तह र वडाहरुमा नेता कार्यकर्तालाई परिचालन गरिएका छन् । देशभरका ६ हजार ७ सय ४२ वडा अभियान सञ्चालन गरिने छ ।