
महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर माध्यमिक विद्यालयले ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य बेल बहादुर रानाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशी(बोक्सर) को अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटा, जनप्रतिनिधि, नेपाल बैंक लि. महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशी, सहितका विभिन्न्न विद्यालयका प्रधानाध्यापक लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य रानाले आफूले इच्छा हुँदाहुँदै पनि विद्यालयलाई सहयोग गर्न नसकेकोमा दुःख व्यक्त गरे ।
‘विद्यालयले मलाई माया गर्छ, मैले केही गर्न सकेको छैन, दुई पटक कार्यक्रममा आइ सकेको छु’ उनले भने,‘संसद विकास कोषबाट केही सहयोग गरुला भनेर सोेचेको थिए। त्यो पनि खारेज भो । तै पनि म विद्यालयका लागि केही न केही गर्छु ।’
प्रदेश सभा सदस्य रानाले विद्यार्थीहरुले क्याम्पस पढ्न छाडेको उल्लेख गर्दै सरकारले विद्यार्थीलाई क्याम्पस पढ्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
लागु औषधले समाज आक्रान्त बनेको चिन्ता व्यक्त गर्दैै उनले सबै घरमा लागु औषध लिने भेटिने अवस्था आएको उल्लेख गरे । ‘लागु औषधको ठूलो समस्या छ, अहिले लागु औषध नलिने कुनै घर छैन’ उनले भने ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष देवकोटाले कार्यक्रममा राजा अकबर र बीरबलको गोरुको दुध खाने कथा सुनाउँदै विद्यालयलाइ मर्ज गरी मेगा विद्यालय बनाउने योजना भएको उल्लेख गरे ।
सुस्त मनस्थितिका बालबालिकाको विशेष कक्षा सञ्चालित महेन्द्रनगरमा मावि हाल ४ सय ५२ विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक विनोद सिहले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सुुस्त मनस्थितिका १० विद्यार्थी विशेष कक्षामा अध्ययन गर्दै आएको बताए ।
प्रधानाध्यापक सिहले विद्यालयले पहिलो पटक खेलकूद प्रतियोगितामा स्वर्ण पदक जितेको बताए । भीमदत्त नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा विद्यालयकी छात्रा सृष्टि सुनारले तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।
विद्यार्थी संख्या बढी भएर पनि शिक्षक दरबन्दी न्यून भएका कारण पठनपाठनमा समस्या भएको उल्लेख गर्दै उनले कार्यक्रमका प्रमुख अतिथि रानाको ध्यानाकर्षण गराए ।
महेन्द्रनगर माविमा सिह माध्यमिक तहका एक्ला स्थायी शिक्षक हुन् । उनले विद्यालयमा बर्सेनी विद्यार्थी संख्या भने बढ्दै गएको बताए ।
विद्यालय व्यवस्थापन समितिको नेतृत्व जोशीले लिएपछि गत वर्ष विद्यार्थी भर्ना अभियानमा समिति र शिक्षक कर्मचारी सबै सक्रिय रुपमा परिचालन भएका थिए ।
‘वहाँ अध्यक्षज्यू भर्ना अभियानमा विहानै सात बजे नै आउनु हुन्थ्यो, सबै शिक्षक कर्मचारी सक्रिय भएर लाग्यौ’ प्रधानाध्यापक सिहले भने,‘त्यसको फल स्वरुप अहिले विद्यालयमा विद्यार्थी संख्या बढेको छ, शैक्षिक भौतिक पूर्वाधार निर्माण र विकासमा प्रगति भएको छ ।’
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष जोशीले विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सबैको साथ र सहयोग चाहिने उल्लेख गरे ।
विद्यालयका शिक्षक नवराज जोशीले सञ्चालन गरेको कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे । कार्यक्रममा शिक्षक पार्वती जोशीलाई सम्मान गरिएको छ ।
पठनपाठन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
