भीनपा १७ मा आँखा शिविर, अढाई सय बढी वासिन्दाले लिए सेवा

महेन्द्रनगर । भीमदत्त नगरपालिका १७ मा आँखा शिविर सम्पन्न गरिएको छ । सोमवार वडा कार्यालयमा आयोजना गरिएको शिविरबाट २ सय ५८ जनाले सेवा पाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरिएको छ ।

पेसवानका सदस्य दमन चन्दका अनुसार २४ जनाको आँखाको शल्यक्रिया गरिने माघ २३ गते धनगढी लैजाने उनले बताए । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । साथै उक्त शिविरमा ९१ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ ।

आफनै वडामा आँखाको उपचार पाएपछि स्थानिय रमेश पार्कीले आफु खुशी भएको बताए । आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताए ।

उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए । यस्तै, आँखाको उपचार गर्नका लागि शिविरमा पुगेका ८० वर्षका सुरेश धामीले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताए ।

उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदमसिंह बुढाले आफनो वडामा आँखाको शिविर सञ्चालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे ।

उनले वडामा जनजाती दलित समुदायको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनले आगामी दिनमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागि पनि संस्थालाई आग्रह समेत गरे ।

संस्थाका सदस्य दमन चन्दले माघ २३ गते वडा नं. ५ मा आँखा शिविरको आयोजना गरिने बताए । उनले माघभित्र सबै वडामा आँखा शिविर सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।

सम्बन्धित
Loading...