

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका नव नियुक्त नगर प्रवक्ता पदमराज अवस्थीले सेवाग्राही सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिइएको बताएका छन् ।
नगर प्रवक्ता अवस्थीले मंगलबार नगरपालिका कार्यालयमा पत्रकारहरुसित परिचयात्मक कार्यक्रम राखेर सेवा प्रवाहलाई विगतको भन्दा चुस्त र दुरुस्त बनाइने बताए ।


‘विगत भन्दा केही न केही फरक पाउनु हुन्छ, सेवा प्रवाहमा केही न केही फरक ल्याउँछौ’ नगर प्रवक्ता अवस्थीले भने,‘भीमदत्तका जनप्रतिनिधि, कर्मचारी सबैलाई सेवाग्राही सन्तुष्ट हुने गरी मुस्कान सहितको सेवा दिन निर्देशन दिइएको छ ।’
भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले अवस्थीलाई नयाँ प्रवक्ता नियुक्त गरेका हुन् । उनी भीनपा ५ का वडा अध्यक्ष हुन् । गत महिना नगर प्रवक्ता महेन्द्र खड्काको निधन भएको थियो ।
कार्यक्रममा अवस्थीले स्वर्गिय खड्काको कार्यकालमा भएका अधुरा सबै कामलाई अघि बढाउने प्रतिवद्धता जनाए । उनले नगरपालिका र मिडियाबीच आपशी सम्बन्धलाई सधैं बलियो बनाउने लाग्ने बताए ।
