महेन्द्रनगर । महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा शुक्रबार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद रमेश लेखक प्रमुख र निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट अतिथिका रुपमा कार्यक्रममा सहभागी भए ।
निवर्तमान साँसद भट्ट काम विशेष कारण देखाउँदै मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिए । मञ्चमा मन्तव्य सकेर आएपछि साँसद लेखकले आशनबाट उठेर डा. भट्टसित हात मिलाए । त्यसपछि केही समय बसेर भट्ट कार्यक्रमबाट बाहिरएका हुन् ।
निवर्तमान साँसद भट्टले मन्तव्य राख्न अघि मञ्चमा सम्मान गरियो । साँसद लेखकलाई भट्टलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । उनले शिक्षालयले आफूलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै शिक्षालयले उत्कृष्ठ शिक्षालयको पहिचान बनाउन शुभकामना दिए ।
२०७९ को आम निर्वाचनबाट कञ्चनपुर ३ मा लेखक निर्वाचित भएपछि निवर्तमान साँसद भट्ट र लेखक पहिलो पटक एकै मञ्चमा देखिएका हुन् । त्यस अघिका पाँच वर्षसम्म पनि उनीहरु एक मञ्चमा देखिएका थिएनन् ।
प्रतिनिधि सभा सदस्य लेखक काँग्रेस र भट्ट एमाले नेता हुन् । शुक्रबार एकै मञ्चमा देखिएका उनीहरु २०७४ को आम निर्वाचनमा कञ्चनपुरमा प्रतिस्पर्धी थिए । निर्वाचनमा भट्ट निर्वाचित भएर प्रतिनिधि सभा सदस्य भएका थिए । २०७९ को निर्वाचन लेखक जित्दा निवर्तमान साँसद नभएर एमालेका नेता निरुदेबी पाल प्रतिस्पर्धी थिइन् । एमाले नेता पाल पनि लेखकसंगै मञ्चमा विशिष्ठ अतिथि थिइन् ।
दुई फरक पार्टीका नेताद्वय लेखक र भट्ट घरायशी नाता सम्बन्धमा दाई पर्छन् । लेखक एमालेका निवर्तमान साँसद भट्टको मावलीपट्टीका दाई पर्छन् । घरायशी नाता सम्बन्धका कारण २०७४ को आम निर्वाचनमा उनीहरु दुबैले एक अर्काको नाम नलिई आफ्नो चुनावी प्रचार गरेका थिए । कञ्चनपुर ३ मा २०५६ देखि निरन्तर १८ वर्ष साँसद भएका लेखकलाई भाई भट्टले चुनावमा पराजित गरि दिएका थिए । चुनाव पराजित भएपछि लेखकले सार्वजनिक कार्यक्रममा भट्टको नाम लिएर विरोध गरेनन् ।
महाकाली बहुप्राविधिक शिक्षालयको कार्यक्रममा उनी एमाले नेतृ पालसंगै कार्यक्रम स्थलमा प्रवेश गरेका थिए । २०७९ को निर्वाचनले एमालेले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पाल र भट्टको नाम सिफारिश गरेको थियो ।
निवर्तमान साँसद भट्टले कार्यक्रममा सुदूरपश्चिममा व्यापारिक नाका, भन्सार नाका नभएको लगायतका समस्या उल्लेख गर्दैै सुदूरपश्चिम आफैं भूपरिवेष्ठित भएको उल्लेख गरे । सुदूरपश्चिमले पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पाए पनि विकासमा चुकेको बताए ।
कार्यक्रममा उनले कैलालीको गेटामा मेडिकल विश्वविद्यालय बनाउने अभियान जारी रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार र कनेक्टिभीटिका योजना बनाएर प्रदेशप्रति देखिएको नैराश्यता हटाउन सक्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि लेखक आफ्नो मन्तव्यमा डा. भट्टको नाम लिँदै सुदूरपश्चिमको विकासका लागि सधैं सक्रिय पहल गरिने बताए ।
कार्यक्रमकी विशिष्ठ अतिथि पालले एकै मञ्चमा सबै राजनीतिक दलका नेता सहभागी हुन आफ्नो लागि गौरबको क्षण भएको बताइन् ।