ghar sansar

पत्रकार पुस्कर भट्टमाथिको आरोप सार्वजनिक गर्न प्रहरीलाई दबाव

महेन्द्रनगर । पत्रकार सहित विभिन्न क्षेत्रका व्यक्तिले पक्राउ गरेका पत्रकार पुस्कर भट्टमाथि लगाएको आरोप सार्वजनिक गर्न प्रहरीलाई दबाव दिएका छन् । जिल्ला प्रहरी कार्यालयले शनिबार विहान पत्रकार भट्टलाई गड्डाचौकीबाट पक्राउ गरेको हो ।

पत्रकार भट्टमलाई पक्राउ गरिएपछि वरिष्ठ पत्रकार खेम भण्डारी सहित विभिन्न क्षेत्रका व्यक्तिले सामाजिक सञ्जाल फेसबुकबाट भट्टमाथिको आरोप सार्वजनिक गर्न माग गरेका हुन् ।

पत्रकार भट्टले केही दिन अघि सामाजिक सञ्जालमा प्रहरी निरीक्षक विनु शाहीको यातनाका कारण प्रहरी जवान नविन नाथले राजीनामा दिएको विषयमा लेख्दै आएका थिए । त्यहीं विषयलाई लिएर पत्रकार भट्टलाई साइबर क्राइम अन्र्तगत जाहेरी दर्ता गरी अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले अनुसन्धानका लागि भट्टलाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

उनले जाहेरी दिने व्यक्तिको नाम भने गोपनियताका लागि सार्वजनिक गर्न नमिल्ने बताए । ‘जाहेरीकर्ताको नाम गोप्य राखिएको छ, गोपनियताको लागि नाम सार्वजनिक गर्न मिल्दैन’ उनले भने,‘भट्टलाई नियन्त्रणमा लिइएको छ, अनुसन्धान गरि रहेका छौ ।’

प्रहरी प्रवक्ता डाँगीले भट्टले अनुसन्धानका क्रममा अन्य व्यक्तिलाई पनि पक्राउ गरिने संकेत गरेका छन् । ‘अब अनुसन्धान गर्दा अन्य पनि पक्राउ पर्न सक्छन्, कति जना भन्ने कुरा अनसन्धानबाट थाह हुन्छ’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयले केही दिन अघि नेपाल पत्रकार महासंघ सहित राजनीतिक दल सम्बद्ध पत्रकारलाई संगठनका प्रतिनिधिलाई कार्यालयमा बोलाएर छलफल गरेको थियो । त्यसमा प्रहरी कार्यालयका अधिकारीहरुले फेसबुकमा लेखिएका विषयलाई लिएर मुद्दा चलाउन सकिने बताएका थिए ।

प्रहरी कार्यालयमा भएको छलफलमा सहभागीका अनुसार प्रहरीले पत्रकार भट्ट, ऐश्वर्या कुँबर र अर्का एक जनाको नाम लिएर छलफल गरेको बताए । छलफलमा प्रहरी अधिकारीले पत्रपत्रिकामा प्रकाशित समाचारका विषयलाई भने प्रेस काउन्सिलले हेर्ने र सामाजिक सञ्जालमा लेखिएका विषय वस्तुमा साइबर क्राइम आकर्षित हुने बताएका थिए ।

     

Himal dental
सम्बन्धित
Loading...