ghar sansar

सालघारीमा नगर विकास स्वामित्वको जग्गामा निर्माणाधिन हनुमान मन्दिरका निर्माण सामाग्री जफत

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले सालघारीस्थित निर्माणाधिन हनुमान मन्दिरका निर्माण सामाग्री जफत गरी नगरपालिका कार्यालयमा ल्याएको छ । भीमदत्त नगर विकास समिति मातहतको सालघारीस्थित जग्गामा बुधबार हनुमानको मन्दिर निर्माण कार्य शिलान्यास गरिएको थियो ।

नगर विकास समितिको स्वामित्वको जग्गामा अवैध रुपमा मन्दिर निर्माण गरिएको भन्दै निर्माण सामाग्री जफत गरिएको हो । भीमदत्त नगर विकास समितिले बिहीबार नगरपालिका कार्यालयलाई अवैध रुपमा मन्दिर निर्माण गर्न लागिएको जानकारी गराएको थियो ।

भीमदत्त नगर विकास समितिका सदस्य कलक बहादुर सिहले नगरपालिका र नगर विकास समितिलाई जानकारी नदिई अवैध रुपमा मन्दिर निर्माण कार्य गरिएकाले निर्माण सामाग्री जफत गरिएको बताए ।

‘त्यो नगर विकास समितिको जग्गा हो, त्यसमा त्यसरी कुनै निर्माण कार्य गर्न पाइदैन’ उनले भने,‘त्यस कारण त्यहाँ राखिएका निर्माण सामाग्री जफत गरी कार्यालयमा ल्याइएका छौ ।’

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई समितिले बिहीबार अवैध रुपमा निर्माण कार्य सुरु भएको जानकारी गराएको थियो । त्यसपछि भीमदत्तको नगर प्रहरीले निर्माण स्थलमा निर्माण सामाग्री कार्यालयमा ल्याएको हो ।

बुधबार मन्दिर निर्माण शिलान्यासका लागि भीमदत्तका मेयर पदम बोगटीलाई आमन्त्रण गरिएको थियो । उनी शिलान्यास कार्यक्रममा नगई बुधबार काठमाडौं हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कमल थापा सहितको उपस्थितिमा मन्दिर शिलान्यास गरिएको थियो ।

भीमदत्त नगर विकास समितिका सदस्य सिहले त्यस क्षेत्रमा मन्दिर सहित अन्य संरचनामा पनि अवैध रुपमा निर्माण भएको बताए । उनका अनुसार नगर विकास समितिले पूर्जा दिएको वा लिजमा दिएको जग्गा बाहेक अन्यमा संरचना बनाउने कार्य अवैध हो ।

Himal dental
सम्बन्धित
Loading...