सर्वसम्मत होला त एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन

Amity

महेन्द्रनगर । एमाले कञ्चनपुरका दुई गुटबीच विवाद चर्किएपछि नवौ अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली आफैं आउन लागेका छन् । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन चैत १ र २ गते हुन लागेको हो । अध्यक्ष ओलीले खुला मञ्चमा अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

अध्यक्ष ओली आउने भएपछि यस अघि फागनु दोस्रो साता तोकिएको अधिवेशन स्थगित गरी चैतमा पुगेको छ । दुई वर्ष अघि भएको आठौं जिल्ला अधिवेशनबाट एमाले कञ्चनपुरका दुई गुटबीच विवाद चर्किएको हो । दुई गुटको लडाई गत साउनमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा कुटाकुट भएर अध्यक्ष ओलीसम्म पुगेको थियो ।

janjyoti campus

कञ्चनपुर एमालेमा पोलिटब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र सिह रावलका दुई गुट छन् । आठौं अधिवेशनपछि यी दुई समूह एक अर्को समूह विरुद्ध सक्रिय छन् । नवौ अधिवेशनमा पनि यी दुई समूहबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् ।

नवौ अधिवेशनमा दुबैले आफ्नो गुट बलियो बनाउने तयारी थालि सकेका छन् । यस अघि आठौं अधिवेशनमा रावल समूहले अनपेक्षित हार व्यहारेको थियो । एमाले कञ्चनपुरमा वर्चश्व राख्ने अभिलासा राखेर रावल समूह आठौ जिल्ला अधिवेशनमा चुानव लडेको थियो ।

आठौं जिल्ला अधिवेशनमा रावल समूहले सुदूरपश्चिम प्रदेश सभा सदस्य बीर बहादुर थापालाई सर्वसम्मत अध्यक्ष बनाउन अन्तिमसम्म प्रयास गरेको थियो । सहमतिको प्रयास सफल हुन नसकेपछि चुनावमा थापा फराकिलो मत अन्तरले  पराजित भएका थिए ।  पाल समूहका सुरेन्द्र विष्ट अध्यक्ष निर्वाचित भएका थिए ।

जिल्ला पदाधिकारी आउन नसकेको रावल समूहले केही सदस्य मात्रै जितेको थियो । एमाले केन्द्रीय सदस्य लेखराज भट्ट, तत्कालिन सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी, पोलिटब्युरो सदस्य रावल र केन्द्रीय सदस्य कमला बोहराले थापालाई अध्यक्ष बनाउन अन्तिमसम्म प्रयास गरेका थिए । 

आठौं जिल्ला अधिवेशनको केही दिनमै अध्यक्षका उम्मेदवार थापा सहितले दैजीमा भेला गरी निर्वाचित जिल्ला कमिटीलाई असहयोग गर्ने छलफल गरेका थिए । एमालेका तत्कालिन प्रदेश अध्यक्ष भण्डारीले विष्ट नेतृत्वको जिल्ला कमिटी भङ्ग गर्ने चेतावनी दिएका थिए ।

आठौं जिल्ला अधिवेशनपछि चर्किएको विवाद २०७९ को स्थानीय तह निर्वाचनको टिकट वितरणमा छर्लङ्ग देखिएको थियो । रावल समूहका अधिकाँश नेताले स्थानीय तह निर्वाचनमा टिकट पाएका थिए ।

एमालेमा केन्द्रीय सचिव भट्ट, तत्कालिन प्रदेश अध्यक्ष भण्डारी र केन्द्रीय सदस्य बोहरा अध्यक्ष ओलीसम्म बलियो पहुँच भएका नेताका रुपमा परिचित छन् । अध्यक्ष ओलीसम्म बलियो पहुँच भएर पनि पोलिटब्युरो सदस्य पाललाई स्थानीय तह निर्वाचनको टिकट वितरणमा धक्का लागेको थियो ।

स्थानीय तह निर्वाचनमा रावल समूहका अधिकाँश उम्मेदवार पराजित भएपछि आम निर्वाचनमा भने पाल समूह फेरि हावी भएको थियो । पोलिटब्युरो सदस्य पाल आफैं कञ्चनपुर ३ मा चुनाव लडेकी थिइन् ।

आठौं अधिवेशनपछि दुई गुटमा बढेको विवाद गत साउनमा युवा संघको जिल्ला अधिवेशनमा कुटाकुटसम्म पुगेर अध्यक्ष ओलीसम्म पुगेको थियो । युवा संघको अधिवेशनमा रावल समूहका नेता कार्यकर्ताले भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि पार्टी कार्यालयमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए । युवा संघ अधिवेशनको निर्वाचन समितिका सदस्य देवकोटा पाल समूहका नेता हुन् ।

अध्यक्ष ओलीले कुटपिटमा संलग्न सबै नेता कार्यकर्तालाई पार्टी सदस्यबाट हटाउन निर्देशन दिए । उनले उपाध्यक्ष युवराज ज्ञवालीको नेतृत्वमा समिति गठन गरी घट्नाको छानबिन गर्न लगाएका थिए । अहिले वडा अध्यक्ष देवकोटामाथि कुटपिटमा संलग्न सबै नेता कार्यकर्ताको कारवाही फुकुवा गरिएको छ ।

युवा संघमा दुई समूहले नेतृत्वमा दावी गरेपछि विवाद चर्किएर कुटाकुटसम्म पुगेको थियो । त्यस अघि महिला संघमा पनि दुई गुटबीच विवाद चर्किएर समानान्तरक कमिटी गठनसम्म पुगेको थियो ।

अहिले नवौ अधिवेशनमा पनि यी दुई गुट प्रतिस्पर्धा गर्ने गरी आन्तरिक रुपमा तयारी गरि रहेका छन् । पोलिटब्युुरो सदस्यद्वय पाल र रावल दुबै जिल्ला बाहिर छन् । अहिले यी दुई गुटका नेता जिल्ला नेतृत्वको आकाँक्षा राखेर तयारी थालि सकेका छन् ।

दुई समूहबीचको तिक्तता शुक्रबार एमाले पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा देखिएको छ । रावल समूहकी केन्द्रीय सदस्य कमला बोहरा पत्रकार सम्मेलन सुरु भएपछि सभा कक्षबाट बाहिरिएकी छन् ।

पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज नारदमुनि रानाले नवौ जिल्ला अधिवेशन सर्वसम्मत हुने दावी गरे । ‘लोकतन्त्रको उच्चतम विधि सर्वसम्मत पनि हो, दैलेख,दार्चुला लगायतका जिल्लामा सर्वसम्मत अधिवेशन भएका छन्’ उनले भने,‘अन्तिमसम्म सर्वसम्मतको प्रयास हुन्छ, भएन भने त अन्तिम विधि चुनाव छँदैछ ।’

एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढाले नवौ जिल्ला अधिवेशनलाई सर्वसम्मत र समावेशी प्रतिनिधित्वको अधिवेशन बनाइने बताइन् ।

‘यो अधिवेशनलाई हामी सर्वसम्मतको अधिवेशन, सर्वसम्मत नेतृत्वको अधिवेशन र समावेशी कमिटी चयनको अधिवेशन बनाउँछौ’ कार्य वाहक अध्यक्ष बुढाले भनिन् । ‘पार्टीभित्रका सबै अन्तर विरोध हल गरी सर्वसम्मत बनाउने गरी अघि बढ्छौ’ उनले भने ।

अधिवेशनमा जिल्लाभरका ५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । एमालेमा १० हजार बढी संगठित सदस्य छन् । ती सदस्यले चुन्ने ५ हजार प्रतिनिधिले जिल्ला अधिवेशनमा सहभागी हुने छन् ।

ghar sansar
सम्बन्धित
Loading...