

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको कार्य सम्पादन मूल्याङ्कन नतिजा यस वर्ष पनि खस्केको छ । दुई वर्ष अघि २०७८ मा ७६ अंक ल्याएपछि भीमदत्तको कार्य सम्पादन मूल्याङ्कन नतिजा निरन्तर खस्केको हो । यस वर्ष पनि नतिजा खस्ने क्रमले निरन्तरता पाएको छ ।
यस वर्ष भीमदत्तले कार्य सम्पादन मूल्याङ्कनमा ४१ दशमलव ६५ अंक ल्याएको छ । गत वर्ष ४८ अंक थियो । यस आधारमा भीमदत्तले यस वर्ष कार्य सम्पादन मूल्याङ्कन झन खराब नतिजा ल्याएको हो ।
२०७६ पछिका दुई वर्ष निरन्तर नतिजा खस्किए पनि कञ्चनपुरका सबै स्थानीय तहमा भने भीमदत्तले सबैभन्दा बढी अंक ल्याएको छ । २०७८ मा भीमदत्तले कार्य सम्पादन मूल्याङ्कनमा ७६ दशमलव ३८ अंक ल्याएर देशभरका स्थानीय तहमा धेरै अंक ल्याउने स्थानीय तह बनेको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहसंग सम्बन्धित विभिन्न १७ सूचकका आधारमा स्थानीय तहको कार्य सम्पादन मूल्याङकन गर्दै आएको छ ।
कञ्चनपुरमा भीमदत्तपछि शुक्लाफाँटा नगरपालिकाले ४० अंक ल्याएको छ । पुनर्वास नगरपालिकाले सबैभन्दा कम १७ दशमलव ५६ अंक ल्याएको छ ।

बेदकोट नगरपालिका ३८.२८ अंक, कृष्णपुर १८ दशमलव ९८ अंक, दोधारा चाँदनी नगरपालिकाले ३४ दशमलव ७१ अंक ल्याएको हो ।
यसैगरी, बेलौरी नगरपालिकाले ३७ दशमलव १५ अंक, लालझाडी गाउँपालिका २८ दशमलव ८३ अंक पाएको छ । कार्यसम्पादन मूल्याङ्कनमा बेलडाँडी गाउँपालिका २४ दशमलव ३८ अंक प्राप्त गरेको छ ।
स्थानीय तहले समयमै बजेट पेस गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे÷नगरेको, आउँदो आर्थिक वर्षको लागि आय÷व्ययको प्रक्षेपण गरिएको तथ्याङ्कसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे÷नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको लगायतका विषयमा मूल्याङ्कन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र सङ्कलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको सङ्ख्या, संस्थागत प्रसूति सङ्ख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।
स्थानीय शासनका विज्ञ बिसनदेब जोशीले कञ्चनपुरका स्थानीय तहले कार्य सम्पादन नतिजालाई सन्तोसजनक रुपमा लिन सकिने बताए ।
‘कञ्चनपुरका स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कनमा ४०÷४० अंकसम्म आएको छ, आउनु पर्ने यो भन्दा बढी नै हो, तै पनि यसलाई पनि सन्तोसजनक मान्न सकिन्छ’ उनले भने ।
