धुमधामसंग मनाइयो होली ग्रुफ अफ स्कुलको २३ औं वार्षिकोत्सव

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम स्कुल तथा होली ग्रुफ अफ स्कुलको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको प्रमुख आतिथ्यमा वार्षिकोत्सव कार्यक्रम गरिएको छ ।

वार्षिकोत्सव उद्घाटन गर्र्दै लेखकले निजी विद्यालयलाई मारेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसक्ने उल्लेख गर्दै निजी विद्यालयलाई समस्या हुने गरी कानुन बनाउने बनाउन नदिने कुरामा भूमिका खेल्ने बताए ।

‘अहिले निजी विद्यालय मार्ने काम हुँदैछ भन्ने गुनासो छ , म आफ्नो तर्फबाट यसमा सहमत छैन’ उनले भने,‘निजी विद्यालयका कारण सरकारी विद्यालय कमजोर भएका होइन, निजी विद्यालय मारेर सरकारी विद्यालयको गुणस्तर सुधार हुँदैन ।’

कार्यक्रममा साँसद लेखकले विगतको तुलनामा शिक्षण संस्था र शैक्षिक गुणस्तर दुबै बढेको बताए । उनले आफूले आइएस्सी पढ्न अघिसम्म कञ्चनपुरमा उच्च शिक्षा हासिल गर्न जिल्ला बाहिर जानु पर्ने अवस्था भएको उल्लेख गर्दै अहिले महेन्द्रनगरमा विश्वविद्याल शिक्षा हासिल गर्न सकिने अवस्था भएको बताए ।

‘म आइएस्सी पढ्दा अघिसम्म यता कक्षा ११ , १२ पढ्न बाहिर जानु पथ्र्यो, मैले पढ्दा नै अहिलेको ११ र १२ लाई आइएस्सी आए भनिन्थ्यो’ उनले भने,‘बीए पढ्न त नेपालगञ्ज जानु पथ्र्यो, तर पछिल्लो २०÷३० वर्षमा शिक्षामा धेरै प्रगति भएको छ, अहिले विश्वविद्यालयको शिक्षा पनि यतै पढ्न सकिन्छ ।’

अहिलेको लोकतान्त्रिक शासन व्यवस्था र उदार अर्थनीतिका कारण शैक्षिक क्षेत्रमा अनपेक्षित उपलब्धि हासिल भएको लेखकले बताए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य पूर्व मन्त्री प्रकाश रावलले निजी विद्यालयकाले शैक्षिक क्षेत्रमा पुगाएको योगदानको कदर गरिनु पर्ने बताए । उनले प्रदेश सरकारले शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर अघि बढेको उल्लेख गर्दै कबर्ड हलमा बहुउद्देश्यीय कबर्ड हल निर्माण भएर खेलहरु भित्र खेल्ने सकिने बताए ।

होली ग्रुफ अफ स्कुलका संस्थापक चेयरमेन भुपाल विष्टको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बैजनाथ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका गोबिन्द सिह ढाँट, डम्बरराज जोशी, प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्द, महेन्द्रनगर माध्यमिक विद्यालय(साधारण) का पूर्व प्रधानाध्यापक ललित सिह साउँद लगायतले शुभ कामना मन्तव्य राखे ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, भीनपा १० का वडा अध्यक्ष महेश चन्द, ९ का अध्यक्ष गगन कार्की, ११ का अध्यक्ष प्रकाश थापा, ओलम्पियन डम्बरदत्त भट्ट, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीश प्रसाद भट्ट, समाजसेवी खगेश्वर केसी, प्याब्सन सुदूरपश्चिम वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, प्याब्सन कञ्चनपुरका कोषाध्यक्ष केशवराज जोशी, एन प्याब्सन जिल्ला सचिव बलदेब भट्ट लगायतका सहभागी भएका छन् ।

कार्यक्रममा होली फेमली इङ्गशिल मिडियम स्कुलका प्रिन्सिपल खडक सिह विष्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । होली ग्रुफ अफ स्कुलका असिस्टेन्ट मेनेजर महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राखे ।

कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारीलाई सम्मान गरिएको छ । विद्यालयले पठनपाठन र अतिरिक्त क्रियाकलापका विभिन्न विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रममा होली फेम्ली इङ्गलिश मिडियम स्कुलका संगीता नाथ, ज्ञानोदय पब्लिक एकेडमी हेमा भट्ट, शोभा बिष्ट, होली टेम्पल इङ्गलिश मिडियम स्कुल सरिता राना, देबकी खड्का, ब्रह्म्देब चिल्ड्रेन एकेडमी पार्वती जोशी, अमरावती एकेडेमी माया गिरी, तेक्वान्दो खेलाडीहरु बिनोद भट्ट, अन्जु राना र रितु धानुकलाई समन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साँसद लेखकले सबैलाई टीका लगाएर सम्मान पत्र प्रदान गरे । यसैगरी होली फेस्टिबल २०८० का उत्कृष्ठ विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

वार्षिकोत्सवको पूर्व सन्ध्यामा फागुन ७ गतेदेखि विद्यालयमा फेस्टिबल आयोजना गरिएका थियो । फेस्टिबलमा खेलकूद र विभिन्न साँस्कृतिक कार्यक्रम गरिएका थिए ।

होली फेमली ग्रुफ अफ स्कुलका संस्थापक चेयरमेन विष्टले देशका लागि दक्ष, अनुशासित र योग्य जनशक्ति उत्पादनको लक्ष्य लिएर विद्यालय सञ्चालन गरिएको उल्लेख गर्दै सबैको साथ सहयोग पाएको बताए ।

‘अहिलेसम्म सबैको साथ सहयोग पाएका छौ, यसका लागि म होली ग्रुफ अफ फेमलीका तर्फबाट सबैमा धन्यवाद दिन चाहन्छु’ उनले भने,‘आगामी दिनमा साथ सहयोगको अपेक्षा राखेका छौ ।’

वार्षिकोत्सव कार्यक्रममा होली ग्रुफ अफ स्कुल आवद्ध सबै विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी सहभागी भएका छन् । कार्यक्रममा सबै विद्यालयले कार्यक्रमका प्रमुख अतिथि रमेश लेखकलाई सलामी दिएका छन् ।

विद्यालयका शिक्षक हरिश सिह ठगुन्नाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति सहित भाषण, तेक्वान्दो प्रदर्शन लगायतका कार्यक्रम गरेका छन् ।

       

सम्बन्धित
Loading...