
महेन्द्रनगर । खुला मञ्चमा फागुन तेस्रो सातादेखि सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०८० हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले “कृषि, उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ १० दिने महोत्सव गर्न लागेको छ ।
यो महोत्सवको १५ औं संस्करण हो । संघले २०५७ देखि महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष नेपाल उद्योग बाणिज्य महासंघ र भीमदत्त नगरपालिका महोत्सवका संरक्षक छन् ।
संघले सोमबार संघमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना तयारी सम्बन्धि जानकारी गराएको छ । संघका अध्यक्ष पिताम्बर जोशीले स्थानीय उत्पादन प्रवद्र्धन, पर्यटन प्रवद्र्धन र संस्कृतिको प्रचार प्रसार तथा संरक्षणको उद्देश्य राखेर महोत्सव गरिने बताए ।
महोत्सवबाट सरकारको ध्यान सुदूरपश्चिम प्रदेशतर्फ आकर्षण हुने संघले अपेक्षा गरेको छ । ‘महोत्सवबाट सरकार र सबै देश वासीको ध्यान सुदूरपश्चिम प्रदेश तथा यस जिल्ला तर्फ केन्द्रित गराउन सहयोग पुग्छ’ उनले भने ।
महोत्सवबाट सुदूरपश्चिमको कृषि क्षेत्रको प्रवद्र्धन तथा आधुनिक कृषि तर्फ किसानहरुलाई उजागर गराई स्थानिय स्तरमा तथा स्वदेशमै उत्पादित बस्तु र सेवाको विकास तथा बजार बिस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न, निकासी योग्य बस्तुको पहिचान गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका बस्तुको बजार प्रवद्र्धनमा टेवा, निकासी जन्य वस्तुको पहिचान तथा निकासिकर्ताबीच सम्पर्क एबम् व्यापारिक कारोबारको सम्भावना ब्यापक बनाउन, स्वेदशी उत्पादनको उपभोगका लागि जनचेतना जगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैगरी कृषि क्षेत्रमा आधुनिक एवं नया“ प्रविधिका उपकरण एबम् मेशिनरीका बारेमा जानकारी गराउन, सबै जातिका परम्परागत लोक संस्कृतीको जगेर्ना गर्न, संघ÷संस्था÷शिक्षा, बैक, सहकारी लगायतका वित्तिय संस्था र कार्यालयका सेवाहरुको आम जनमानसमा प्रचार–प्रसार तथा जानकारी गराउन लक्ष्य हासिल हुने आयोजकको विश्वास छ ।
‘लगानी अवसरको सृजना गर्ने, सहकारी, वित्तिय क्षेत्र तथा बैकिङ्ग क्षेत्रका सेवा र सुविधाको प्रर्दशनी, सूचना प्रविधि सम्बन्धि जानकारी गराउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने, कृषि व्यवसायलाई प्रवद्र्धन गर्ने, पर्यटन शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी र सेवाको प्रचार–प्रसार गर्ने, वैदेशिक रोजगारी सम्बन्धि जानकारी गर्ने, ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामाग्री, सीप मुलक तालिम र तालिमवाट उत्पादन वस्तुको प्रवद्र्धन गर्ने मेलाका मुख्य उद्देश्य रहेका छन्’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मेलामा लघु उद्यम प्रर्दशनी, अटो प्रर्दशनी, कृषि प्रर्दशनी, गार्मेन्टका उत्पादन, जुत्ता चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रवद्र्धन, गुणस्तरिय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री तथा औजार, सूचना प्रविधि तथा विद्युतिय सामाग्री, शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवाहरु, सास्कृतिक कार्यक्रम, हास्यव्यङ्ग, दोहरी, डेउडा, थारु राना नृत्य, नाच प्रतियोगिता, राष्ट्रिय, स्थानिय तथा भारतीय कुमाउनी कलाकारहरुले सास्कृतिक कार्यक्रम पस्कने, पर्यटन क्षेत्रको बिस्तृत जानकारी, डोटेली, थारु तथा रानाहरुका खानाका बिशेष परिकारहरु, बाल उद्यान यस मेलाका मुख्य आकर्षण छन् । यस मेलामा थारु गा“उ छुट्टै निर्माण गरी उक्त क्षेत्रमा थारु समुदायका रहनसहन, भेषभुषा र खानामा परिकार तथा नृत्य प्रस्तुत हुने तयारी गरिएको छ ।
महोत्सवमा छिमेकी भारत सहित कञ्चनपुर लगायतका जिल्लाका दुई लाख बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोत्सवमा तीन सय बढी स्टल राखिने भएका छन् । खुला मञ्चमा महोत्सव तयारीको सुरु भई सकेको छ ।
महोत्सव आयोजनाका लागि संघका अध्यक्ष पिताम्वर जोशीको संयोजकत्वमा १ सय ५१ सदस्यीय मूल आयोजक समिति, १६ वटा विषयगत समिति, स्टेरिङ्ग समिति तथा सल्लाहकार समिति गठन गरिएका छन् ।
संघका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल सह–संयोजक तथा महासचिव खगेश्वर प्रसाद बोहरा सदस्य सचिव रहेको मूल आयोजक समिति गठन गरिएको छ ।
संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्ल स्वागत सत्कार समिति, वरिष्ठ उपाध्यक्ष दिनेश मल्ले सुरक्षा, समन्वय तथा यातायात व्यवस्थापन समिति, प्रथम उपाध्यक्ष सुरेश गुरुङ्ग बाल उद्यान समिति, द्वितीय उपाध्यक्ष धर्म सिंह रावल पर्यटन प्रवद्र्धन समित, सचिव राहुल भट्ट खानेपानी, विद्युत तथा सरसफाई व्यवस्थापन समिति, कोषाध्यक्ष चेतराज जोशी आर्थिक तथा सांस्कृतिक समिति, संघका सदस्य गोपाल सिंह बुडापाल प्रचारप्रसार समिति, सदस्य नरेन्द्र प्रसाद जोशी स्टल बुकिङ्ग समिति, प्रेम प्रकाश पाठक कृषि प्रवद्र्धन समिति, प्रदिप पाल पार्किङ्ग व्यवस्थापन समिति, विशाल सोनार स्टल निर्माण तथा मञ्च व्यवस्थापन समिति, भोजराज अवस्थी साउण्ड सिष्टम व्यवस्थापन समिति, मीनराज भट्ट टिकट व्यवस्थापन समिति र रामचन्द्र बुडा ब्यानर प्रायोजन तथा व्यवस्थापन समितिको संयोजक छन् ।
मेलाको मुल आयोजक समिति तथा विषयगत समितिहरुलाई आवश्यक राय, सल्लाह र सुझाव दिनका लागि गठन भएको सल्लाहकार समिति गठन गरिएको छ ।
संघले महोत्सवमा विद्यार्थीलाई ५० र सर्वसाधारणलाई एक सय रुपैँया टिकट शुल्क लगाएको छ । संघले अनाथ बालबालिका, वद्धाश्रम, धार्मिक क्षेत्र र सामाजिक विकासको लागि प्रति टिकट ५ रुपैँया छुट्याइएको पत्रकार सम्मेलन जानकारी दिइएको छ ।
महोत्सवको आम्दानीबाट नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक र जहर खुरानीबाट पीडित व्यक्तिहरुको उद्धारको लागि सहयोग गर्ने संघका अध्यक्ष जोशीले बताए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का साँसद काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले महोत्सव उद्घाटन गर्ने छन् । संघले प्रधानमन्त्री पुष्पकमल दाहाललाई उद्घाटनका लागि निमन्त्रणा दिएको थियो ।
महोतसवको मुख्य प्रयोजकमा प्रभु बैंङ्ग लि., प्रायोजकमा निको इन्सोरेन्स कम्पनी लि., सह–प्रयोजक नेपाल बैंक, नबिल बैंक छन् । यासुदा कम्पनीले टिकट प्रायोजना गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्यद्वय लोकबिक्रम थापा र माधव प्रसाद भट्ट
सहित संघका पदाधिकारी, सदस्य, कर्मचारी लगायतका सहभागी भएका छन् ।
