
दानेश्वरी हरि बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल स्वर्गिय शेर सिह विष्ट छात्रबृत्ति कोषमा फेरि थपियो रकम, चार विद्यार्थीलाई अक्षय कोषबाट छात्रबृत्ति प्रदान
महेन्द्रनगर । भीमदत्त नगरपालिका १० जिमुवास्थित दानेश्वर हरि बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल स्वर्गिय शेर सिह स्मृतिमा स्थापना गरिएको शेर सिंह बिष्ट छात्रवृत्ति अक्षय कोषमा रकम बढेको छ । स्वर्गिय विष्टका घर परिवारको तीन वर्ष अघि स्थापना गरेको छात्रबृत्ति अक्षय कोषमा सोमबार एक लाख एक सय पाँच रुपैँया थपेपछि तीन लाख तीन सय पाँच रुपैँया पुगेको छ ।
क्याम्पसको १३ औं वार्षिकोत्सव समारोहमा विष्ट परिवारले अक्षय कोषमा रकम थप गरेका छन् । कार्यक्रममा अक्षय कोषमा रकम थपका लागि क्याम्पसलाई चेक हस्तनान्तरण गरिएको छ ।
तीन वर्ष अघि एक लाख एक सय पाँच रुपैँयाको अक्षय कोष स्थापना गरिएको थियो । त्यसपछि अक्षय कोषमा रकम थप गरी यस वर्ष पनि निरन्तरता दिइएको हो । वार्षिकोत्सव समारोहमा समारोहमा क्याम्पसका जेहेन्दार र कमजोर आर्थिक अवस्थाका चार विद्यार्थीलाई अक्षय कोषबाट छात्रबृत्ति प्रदान गरिएको छ ।
सिद्धनाथ माध्यमिक विद्यालयको तत्कालिन प्रधानाध्यापक विष्ट क्याम्पसको संस्थापक प्रिन्सिफल भएर जिम्मोवारी सम्हालेका थिए । तीन वर्ष अघि नयाँ भवन निर्माण हुन अघिसम्म सिद्धनाथ माविमा एकता बहुमुखी क्याम्पसको नामबाट क्याम्पस सञ्चालनमा थियो ।
१३ औ वार्षिकोत्सव समारोहमा स्वर्गिय विष्टका छोरा बिमल विष्टले अक्षय कोषबाट विद्यार्थीहरुलाई थोरै भए पनि पठनपाठनमा सहयोग पुग्ने आशा राखिएको बताए । उनले क्याम्पस सञ्चालन भएपछि कमजोर अवस्थाका वासिन्दा र छोरी बुहारीलाई घर नजिक शिक्षा आर्जन गर्ने अवसर मिलेको बताए ।
‘कमजोर अवस्था भएका परिवारले छोरा छोरीले घर बाहिर गएर पढाउन सक्ने अवस्था थिएन, छोरी बुहारीले बाहिर पठाएर पढाउन सक्ने अवस्था थिएन, महेन्द्रनगर बजार गएर पनि पढन् सक्ने अवस्था थिएन’ उनले भने,‘यस्तो अवस्थामा क्याम्पसले घर नजिक पढ्ने अवसर दिएको छ, यसलाई अझै व्यवस्थित बनाएर अघि बढ्न आवश्यक छ ।’
स्थानीयले चन्दा संकलन गरी १२ वर्ष अघि सिद्धनाथ जिमुवा माध्यमिक विद्यालयमा एकता बहुमुखी क्याम्पस सञ्चालन गरेका थिए ।
स्थानीय हरिसिह विष्ट र उनका छोरा मान सिह विष्टले एक÷एक कट्टा जग्गा दान गरेपछि दानेश्वरी हरि नामाकरण भएर नयाँ भवनमा क्याम्पस सञ्चालन गरिएको हो । विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सरकारले भवन बनाउन सहयोग गरेको हो ।
