
महेन्द्रनगर । एशियाली विकास बैंक(एडीबी) को सडक निर्माणको बाधक बनेका भीमदत्त नगरपालिका मातहतका २२ सटर खाली गरिएको छ । मदन चोक क्षेत्रका ती सटर हटाउन दुई ई वर्ष अघि निर्णय गरी प्रक्रिया सुरु भएको थियो ।
२२ सटर हटाउन नसकेको भन्दै भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र भीनपा ४ का वडा अध्यक्ष सुशिल कुमार भट्टको आलोचना भएको थियो । मदन चोकका व्यवसायीले सटर हटाउन दबावका लागि सडकमा रोपाईदेखि मेयर सहितको पोष्ट टाँस्ने र पछिल्लो पटक ढुङ्गे बजार नामाकरण गरी विरोध गरेका थिए ।
भीमदत्तले ती सटरका व्यवसायीलाई सडक निर्माणपछि सटर बनाएर बसाउने सहमतिमा खाली गराईएको हो । भीनपा ४ का वडा अध्यक्ष भट्टको अधयक्षतामा कार्यदल गठन गरी गत वर्ष सटर हटाउने सम्बन्धि अध्ययन गरिएको थियो ।
भीमदत्त नगर विकास समिति( तत्कालिन महेन्द्रनगर नगर विकास समिति) ले झण्डै चार दशक अघि व्यवसायीहरुलाई भाडमा सटर दिएको थियो । पछिल्लो पटक ती सटरलाई ८ हजारदेखि १० हजार भाडा कायम थियो ।
भीमदत्त नगरपालिका नगर प्रवक्ता पदमराज अवस्थीले सटर व्यवसायीको व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त सहित सटर खाली गरिएको बताए ।
‘२०७८ सालदेखी नै ती २२ सटर लगायका संरचाना भत्काउन प्रयास, पत्राचार भएपनि भत्काउन सकिएको थिएन’ उनले भने,‘अहिले आएर सबैको सहमतिमा सटर खाली गरिएको छ ।’
मदनचोकका २२ सटर कारण त्यस क्षेत्रमा सडक निर्माण एक वर्षदेखि रोकिएको छ । एडिबीले सटर हटाउ नसकेर आयोजना रोकिने चेतावनी दिएपछि भीमदत्त नगरपालिका दबावमा परेको थियो ।
एकीकृत फोहरमैला व्यवस्थापनका कार्य अघि बढाउने प्रतिवद्धतापछि तीन वर्ष अघि एडीबीको क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत ढल सहितको १४ किलोमिटर सडक निर्माण सुरु गरिएको थियो ।
भीमदत्तले साइड क्लियर नगर्दा आयोजानको काम गन्जागोल हुन पुगेको वासिन्दाले बताउँदै आएका छन् । सडक निर्माणका बजारका अन्य क्षेत्रमा अवरोध देखिएको छ ।
