
महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशन चैत १ र २ गते हुन लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले खुला मञ्चमा अधिवेशन उद्घाटन गर्ने तयारी छ ।
अधिवेशनका लागि शनिबारदेखि प्रतिनिधि छनौट सुरु भएको छ । बुधबारसम्म अधिवेशन प्रतिनिधि छनौट हुनेछ । अधिवेशनका लागि ४ सय ८७ प्रतिनिधि छनौट हुने छन् ।

शनिबार भूगोलतर्फका सबै प्रतिनिधि छनौट गरिएका छन् । केही वडा बाहेक अधिकाँश वडाबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका छन् । बुधबारसम्म जनवर्गीय संगठनका प्रतिनिधि छनौट हुने छन् ।
नवौ अधिवेशनबाट जिल्ला नेतृत्व लिन वहालवाहाल पदाधिकारी सहित नेताहरु आकाँक्षी छन् । उनीहरु आन्तरिक रुपमा नेता कार्यकर्ताहरुसित सहयोगका लागि सक्रिय रुपमा लागेका छन् ।
आठौं अधिवेशनका दुई समूहका नेताहरु नेतृत्वका आकाँक्षी छन् । ती दुई समूहका दुई÷दुई नेता नेतृत्वका आकाँक्षी छन् । समूहभित्र आकाँक्षी बढेपछि आठौं अधिवेशनका दुई गुट विभाजन हुने दिशामा गएका छन् । ‘चुनावमा गुटबन्दी त यो वा त्यो रुपमा हुने नै हो, तर आठौं अधिवेशनमा जस्तो दुई गुट नहुन सक्छन्’ एमालेका एक जिल्ला नेताले भने ।
आठौं अधिेवेशनमा पोलिटब्युरो सदस्यद्वय राजेन्द्र सिह रावल र निरु पालका दुई गुटबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा रावल समूह अनपेक्षित हार व्यहोरेको थियो ।
अहिले पाल र रावल गुटबाट दुई÷दुई नेतृत्वका आकाँक्षी छन् । एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, हिरा चन्द र अशोक कुमार चन्द नेतृत्वका आकाँक्षी छन् । उनीहरुमध्ये कार्य वाहक अध्यक्ष बुढा र सचिव भट्ट पाल समूहका हुन् । यसैगरी रावल गुटबाट चन्दद्वय उम्मेदवार छन् ।
एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्द पनि नेतृत्वका आकाँक्षी छन् । उनी पनि पाल समूहका हुन् । पोलिटब्युरो सदस्य पाल बुढा र भट्ट कसको पक्षमा उभिने भन्ने अझै टुङ्गो लागि सकेको छैन ।
उनी दुबैको पक्षमा उभिन नसक्ने सम्भावना समेत देखिएको नेताहरु बताउँछन् । एमाले नेताहरुका अनुसार पाल हेर र पर्खको रणनीति लिएर बसेकी छन् । अधिवेशनमा सहमति नभएर चुनाव हुने भएमा गुट फेरबदल हुने अधिक सम्भावना छ ।
पाल बाहेक उनका समूह नेताहरु आन्तरिक रुपमा बुढा र भट्टको पक्षमा विभाजन भएर तयारीमा लागि सकेका छन् । पोलिटब्युरो सदस्य रावल समूहका आकाँक्षी पनि आन्तरिक तयारीमा लागेका छन् । उनीहरु दुबै जना प्रतिनिधि छनौट भएका छन् ।
पाल समूहमा कञ्चनपुरका ६ केन्द्रीय सदस्यमध्ये ४ जना छन् । उनीहरु पनि बुढा र भट्ट दुबैमा विभाजित छन् । रावल समूहका नेताहरु पनि आकाँक्षीमा विभाजित छन् ।
दुबै समूहमा उम्मेदवारबीच सहमति नभएपछि चुनाव लड्न नयाँ गुट बन्ने सम्भावना भएको नेताहरु बताउँछन् । ‘उम्मेदवार कसलाई बनाउने भन्नेमा सहमति नभएपछि नयाँ समूह बनाएर पनि चुनाव लड्ने अवस्था आउन सक्छ, नेताहरु यो सबै सम्भावित अवस्थाका कारण के गर्ने नगर्ने भन्ने निर्णयमा पुग्न सकेका छैनन्’ ती नेताले भने ।
एमाले कञ्चनपुरका इन्चार्ज नारदमुनि रानाले केही दिन अघि पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा जिल्ला अधिवेशन सर्वसम्मत हुने बताएका थिए । उनले अधिवेशनमा चुनाव हुने सम्भावना १० प्रतिशत पनि नहुने बताएका थिए ।
यस अघि आठौं अधिवेशनमा पनि अन्तिमसम्म सहमतिको प्रयास गरिएको थियो । सहमति हुन नसकेपछि अन्तिममा चुनाव भएको थियो । आठौं अधिवेशनको चुनावले पार्टीभित्र दुई समूहबीच गुटबन्दीले नेता कार्यकर्ताबीच तिक्ततापूर्ण सम्बन्ध बनेको थियो ।
आठौं अधिवेशनको तिक्ततापूर्ण सम्बन्ध अन्त्य गरी एकताको सन्देश दिने गरी नवौ अधिवेशन सर्वसम्मत बनाउन खोजिएको हो । एमाले अध्यक्ष ओलीले पार्टीलाई बलियो बनाउन सर्वसम्मत बनाउन अप्रत्यक्ष निर्देशन दिएको नेताहरु बताउँछन् ।
