ghar sansar

कञ्चनपुर एमाले अधिवेशन : ४ सय ६४ प्रतिनिधि चयन, आन्तरिक दौडधुपमा आकाँक्षीहरु

महेन्द्रनगर । एमाले कञ्चनपुरको चैत १ र २ गते नवौ जिल्ला अधिवेशनका लागि प्रतिनिधि चयन गरिएका छन् । नवौ अधिवेशनमा सहभागी हुने ४ सय ८७ प्रतिनिधिमध्ये ४ सय ६४ जना प्रतिनधि चयन गरिएका छन् । एमालेमा जिल्ला कमिटीले मनोनित गर्ने २३ प्रतिनिधि चयन बाँकी छन् । एमाले विधान अनुसार ५ प्रतिशत प्रतिनिधि मनोनित गर्न पाउने व्यवस्था छ ।

एमालेले शनिबारदेखि प्रतिनिधि छनौट सुरु गरेको थियो । शनिबार भूगोल अन्र्तगतका प्रतिनिधि चयन गरिएका थिए । बेलौरी नगरपालिकाको एक र पुनर्वास नगरपालिका दुई वडा बाहेक अन्य सबै वडामा सर्वसम्मत प्रतिनिधि आएका छन् । बुधबारसम्म सबै जनवर्गीय संगठनबाट प्रतिनिधि चयन गरिएका छन् । एमालेका २२ जनवर्गीय संगठनमध्ये कञ्चनपुरमा १८ वडाबाट प्रतिनिधि आएका छन् ।

एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले अधिवेशनका लागि मनोनित बाहेक अन्य सबै क्षेत्रका प्रतिनिधि चयन गरिएको बताए । ‘सबै क्षेत्रबाट प्रतिनिधि चयन गरिएको छ, मनोनित बाँकी छन्’ उनले भने ।

अघिल्लो आठौं अधिवेशनमा पनि यही हाराहारीमा प्रतिनिधि चयन गरिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले चैत १ गते खुला मञ्चमा अधिवेशन उद्घाटन गर्ने भएका छन् ।

एमालेले नवौ अधिवेशनलाई सर्वसम्मत बनाउने तयारी छ । कञ्चनपुरका एमाले केन्द्रीय कमिटी सदस्यले बालुवाटारमा अध्यक्ष ओलीलाई जिल्ला अधिवेशन सर्वसम्मत बनाउने प्रतिबद्धता गरेका छन् । एमाले केन्द्रीय कमिटीमा कञ्चनपुरबाट ६ केन्द्रीय सदस्य छन् । उनीहरुमध्ये दुई जना पोलिटब्युरो छन् ।

एमाले कञ्चनपुरका इन्चार्ज नारदमुनि रानाले पनि नवौ अधिवेशन सर्वसम्मत बनाउने बताइ सकेका छन् । नवौ अधिवेशन सर्वसम्तत बनाउने नेताहरु छलफलमा लागे पनि पदाधिकारी र सदस्यका आकाँक्षीहरु आन्तरिक रुपमा चुनावी तयारीमा लागेका छन् ।

आठौं अधिवेशनमा दुई गुटबीच प्रतिस्पर्धाले एमाले कञ्चनपुरमा नेता कार्यकर्ताबीच तिक्तता बढाएको थियो । आठौं अधिवेशनपछि उत्पन्न तिक्तताका कारण जिल्ला अधिवेशन सर्वसम्मत बनाउन नेतृत्वको दबाव दिएको नेताहरु बताउँछन् ।

३ बाहेक अन्य अधिकाँश वडाबाट सर्वसम्मत प्रतिनिधि आएका छन् । बेलौरी ३ मा चुनाव गरी प्रतिनिधि चयन गरिएको थियो । यो वडा एमाले केन्द्रीय सदस्य कमला बोहरा र जिल्ला सचिव पल्लवराज भट्टको हो । उनीहरुबीच आठौं अधिवेशनपछि तिक्ततापूर्ण सम्बन्ध छ ।

आठौं अधिवेशनमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको दुई समूह प्रतिस्पर्धामा उत्रिएका थिए । यस पटक एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको असर जिल्ला अधिवेशनमा पर्ने नेताहरु बताउँछन् ।

प्रदेश अधिवेशनमा महासचिव पोखरेल समूहका लेखराज भट्ट र दामोदर भण्डारीले छुट्टाछुट्टै गुट बनाएका थिए । एमाले कैलाली अधिवेशनमा उनीहरुबीच गुटबन्दी देखिएको थियो ।

एमालेका अर्का पोलिटब्युरो सदस्य कर्ण थापाको अर्को समूह छन् । आठौं अधिवेशन थापा समूहले कञ्चनपुरका वर्चश्व कायम गरेको थियो । नवौ अधिवेशनमा  नेतृत्वका लागि कार्य बाहक अध्यक्ष लक्ष्मी बुढा सहित जिल्ला सचिव पल्लवराज भट्ट, हिरा चन्द, हरि प्रसाद जोशी आकाँक्षी छन् ।

Himal dental
सम्बन्धित
Loading...