दार्चुलाको मार्मा गाउँपालिकाका हाकिमलाई मध्यरातमा जिउँदै जलाउने प्रयास, झ्यालबाट हाम फालेर जोगाए ज्यान
महेन्द्रनगर । दार्चुलाको मार्मा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि बिहीबार मध्यरातमा आक्रमण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अधिकारी सुतिरहेको अवस्थामा शुक्रबार राति अज्ञात समूहले उनको निवासमा ढुंगामुढा र आगजनी गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको सरकारी निवासमा बिहीबार राति करिब १ः४५ बजेको समयमा ढुंगा प्रहार गरेको र आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले बताए । प्रमुख प्रशासकीय अधिकृत सुतिरहेको अवस्थामा झ्यालबाट ढुंगामुढा भएर आगजनी गरेको विवरण आएको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृतको आवास र इलाका प्रहरी कार्यालय आसपासमा हुँदा पनि कसले त्यस्तो गरेको हो भन्ने खुलेको छैन।
प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर प्रहरीकोमा पुगेका थिए। त्यसपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनामा को संलग्न छन् भन्ने खुलिसकेको छैन। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भण्डारीले घटनाको कारण यकिन भइ नसकेको बताए ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली मार्मा पुगेको छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्मा गाउँपालिकामा सञ्चालमा रहेका अवैध क्रसर रोक्न र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्न सूचना जारी गरेका थिए ।
मार्मा गाउँपालिकामा राजश्व नतिरी सञ्चालनमा रहेका दुईवटा क्रसरलाई राजश्वको दायराभित्र आउन पत्र काट्दा पनि नमानेपछि बन्द गर्न सूचना जारी गरिएको थियो।