

महेन्द्रनगर । खुला मञ्चमा जारी १५ औं सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पाँचौ दिन दर्शकको भीड लागेको शिवधामा क्षेत्रमा शिवरात्री हेर्न आएका अधिकाँश दर्शनार्थीहरु मेला हेर्न खुला मञ्चमा आएका छन् । महोत्सवमा विहानदैखि दर्शकहरु बढ्न थालेका हुन् ।
फागुन २१ गतेदेखि सुरु महोत्सवमा शुक्रबारसम्म दैनिक एक हजार भन्दा कम दर्शकले अवलोकन गर्दै आएका थिए । शनिबार शिवरात्रीका कारण हजारौ दर्शक मेलामा सहभागी भएका छन् ।


विगतमा वर्षहरुमा पनि शिवरात्रका दिन सबैभन्दा बढी दर्शक महोत्सव हेर्ने गरेका थिए । संघले शिवरात्रीका दर्शकलाई मध्यनजर गरी केही वर्षदेखि महोत्सव आयोजना गर्दै आएको छ । महँगो टिकटका कारण सुरुदेखि न्यून संख्यामा दर्शक महोत्सव हेर्न आएको आशंका गरिएको थियो ।
महोत्सव आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघले विद्यार्थीलाई ५० र अन्यलाई एक सय रुपैँया प्रवेश शुल्क लगाएको छ । विद्यार्थी संगठनले अन्तिमसम्म टिकट शुल्क घटाउन संघलाई दबाव दिएको थियो । आर्थिक मन्दीका कारण शुल्क घटाउनु पर्ने विद्यार्थीहरुको माग थियो ।


शनिबार शिवरात्रीका कारण महोत्सवमा दर्शक बढेपछि विहानैदेखि संघका पदाधिकारी प्रवेशद्वारमा खटिएका छन् । महोत्सव प्रवेशका लागि प्रवेशद्वारमा लामा लामा लाइन लागेका छन् ।
कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहित सञ्चालित महोत्सवमा दुई सय हाराहारी स्टल राखिएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघ र भीमदत्त नगरपालिका मेलाको संरक्षक रहेको महोत्सव फागुन ३० गतेसम्म सञ्चालन हुनेछ ।

कञ्चनपुर क्षेत्र नं. ३का साँसद पूर्व मन्त्री रमेश लेखकले महोत्सव उद्घाटन गरेका थिए ।
महोत्सवमा लघु उद्यम, अटो, कृषि, गार्मोन्टका उत्पादन, वैकल्पिक उर्जा, पर्यटन प्रर्बद्धन, गुणस्तरिय दैनिक उपभोग्य समाग्री, कृषि औजार लगायतका विभिन्न वस्तु र सेवाका स्टल राखिएका छन् ।
महोत्सवमा ५ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । दुई लाख बढी दर्शकले महोत्सव हेर्ने अनुमान गरिएको छ ।


