महेन्द्रनगर । भीमदत्त नगरपालिकाले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसमा कबर्ड हलमा खेलकूद कार्यक्रम गरी मनाएको छ । भीमदत्त नगरपालिका कार्यालयसित सहज पहुँच भएका विभिन्न पेशा व्यवसाय र क्षेत्रका महिलाहरुका लागि कबर्ड हलमा खेलकूद कार्यक्रम गरी नार िदिवस मनाइएको छ ।
भीमदत्त नगरपालिकाले पहिलो पटक नारी दिवसमा भलिबल र कबड्डी खेल प्रतियोगिता आयोजना गरेको हो । महिलामा लगानीः सभ्य र सम्मुनत समाजको थालनी भन्ने नारा सहित नारी दिवस मनाइएको छ ।
प्रतियगितामा महिला कर्मचारी, शिक्षक, पत्रकार महिला, जनप्रतिनिधि,आमा समूह र विभिन्न संघ संस्था सहभागी भएका छन् । उनीहरु सबै समाजका अगुवा महिला हुन् ।
भीमदत्त नगरपालिका उप मेयर निलम लेखक जोशीले केही दिन अघि नारी दिवस मनाउन नगरपालिका कार्यालयमा महिला हक अधिकारका लागि कार्यरत विभिन्न क्षेत्रका सरोकारवालासंग छलफल आयोजना गरेकी थिइन् ।
छलफलबाट नारी दिवसमा भलिबल र कबड्डी खेल आयोजना गर्ने निर्णय गरिएको थियो । त्यस छलफलमा सहभागी सबैलाई पाँच सयका दरले भत्ता वितरण गरिएको थियो ।
नारी दिवससमा गरिएको कबड्डी प्रतियोगितामा पत्रकार महिला प्रथम,कर्मचारी महिला द्वितीय र आमा समूहका महिला तेस्रो भएका छन् ।
भलिबलमा शिक्षक महिला, कर्मचारी महिला र गैर सरकारी संस्थाका महिला क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । यी दुई खेलमा प्रथम हुने टीमलाई पाँच हजार नगद पुरस्कार वितरण गरिएको छ ।
भीमदत्तका उप मेर जाशीको अध्यक्षतामा समापन कार्यक्रम गरी पुरस्कार वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती प्रमुख अतिथि भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, प्रहरी चक्र राज जोशी लगायतका सहभागी भएका छन् ।
अधिकारकर्मी प्रभुनिधिले पन्त नारी दिवस सामाजिक, आर्थिक, राजनीतिक लगायतका क्षेत्रमा पछाडि परेका दुरदराजका महिलाहरुलाई मध्यनजर गरी हुनु पर्ने बताए । ‘सदरमुकाममा त जहिले पनि यस्तै कार्यक्रम हुन्छन्, यो नारी दिवस त कम्तिमा गाउँ घरसम्म पुग्नु पर्ने थियो, तर सकेन’ उनले भने ।
भीमदत्त नगरपालिकाले यस अघि निर्धारित समयमा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड गर्न नसकेपछि चौतर्फी आलोचना भएको थियो । पुस मसान्तसम्म सक्नु पर्ने छनौट प्रतियसिगता माघ ७ गते गरिएको थियो ।