एमाले कञ्चनपुरको नवौ अधिवेशनमा चर्कियो विवाद , चुनाव हुनु पर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी
महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा चुनाव हुनु पर्ने माग गर्दै प्रतिनिधिहरुले निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । अध्यक्ष मण्डलले सर्वसम्मत जिल्ला कमिटी घोषणाको तयारी गरेपछि सोमबार विहान प्रतिनिधिहरुले तालाबन्दी गरेका हुन् ।
चैत १ गते अधिवेशन सुरु भएपछि अध्यक्ष मण्डलले सहमति जुटाउने प्रयास गरेको थियो । आइतबार पदाधिकारीका सबै आकाँक्षीसित छलफल गरी अध्यक्ष मण्डलले राति पदाधिकारीमा सहमति जुटाएको थियो ।
अध्यक्ष मण्डलले पदाधिकारीमा सहमतिपछि विहान प्रतिनिधिले चुनाव हुनु पर्ने माग राखेर निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ । अधिवेशनमा सचिवका उम्मेदवार कर्ण बहादुर चन्दको नेतृत्वमा तालाबन्दी गरिएको छ । तालाबन्दीपछि चन्द सहित प्रतिनिधि निर्वाचन कार्यालयको ढोकामा धर्ना बसेका छन् ।
अधिवेशनमा सहभागी प्रतिनिधिहरुको भावना अनुसार चुनाव हुनु पर्ने माग राखेर तालाबन्दी गरिएको चन्दले बताए । ‘अधिवेशनमा सहभागी सबैले आफ्नो नेता चुन्न पाउनु पर्छ’ उनले भने ।
चन्द आठौं अधिवेशनबाट उप सचिव निर्वाचित भएका थिए । पदाधिकारीमा सहमति जुटाएपछि अध्यक्ष मण्डल जिल्ला कमिटी सदस्यमा सहमति जुटाउन छलफल गरि रहेको छ । एमाले अध्यक्ष ओलीसित छलफलमा पदाधिकारी टुङ्गो लगाइएको बताइएको छ ।
अध्यक्ष मण्डल आइतबार धनगढी गएको थियो । अध्यक्ष मण्डल धनगढी गएपछि निर्वाचन कार्यालय सोमबार विहान ९ बजेसम्म उम्मेदवारी फिर्ताको सूचना लगाएर बन्द गरिएको थियो ।