महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा जिल्ला पदाधिकारीले शपथ खाए पनि सदस्यहरुमा सहमति जुटाउने प्रयासले निरन्तरता पाएको छ । आइतबार राति पदाधिकारीमा सहमति जुटाएर सोमबार मध्यराति पद तथा गोपनिताको शपथ खुवाइएको थियो ।
एमाले नवौ अधिवेशनमा अध्यक्ष सहित १ सय २० सदस्यीय कमिटीका लागि दुई सयको हाराहारीमा उम्मेदवारी दर्ता गरिएको थियो । अध्यक्ष मण्डलले चार दिनसम्म छलफल गरी पदाधिकारी टुङ्गो लगाएको थियो । सोमबार राति पदाधिकारी सहित सदस्यलाई पनि शपथ खुवाउने तयारी गरिए पनि सदस्यमा सहमति जुटाउन बाँकी भएपछि रोकिएको थियो ।
सोमबार शपथ कार्यक्रम समापन गर्दै अध्यक्ष मण्डलका सदस्य नर बहादुर धामीले भोलि पर्सि सदस्यहरुको शपथ हुने घोषणा गरेका थिए ।
मंगलबार सदस्यहरुको शपथ हुन सकेको छैन । अध्यक्ष मण्डलले सदस्यहरुको टुङ्गो लगाई सके पनि केही प्राविधिक कारणले घोषणा गर्न रोकिएको छ । नेताहरुका अनुसार केही क्लस्टरका सदस्यका उम्मेदवारहरुले फिर्ता लिन नआएका कारण रोकिएको छ ।