
महेन्द्रनगर । एमाले कञ्चनपुरको नवौ अधिवेशनमा जनकराज अवस्थी उपाध्यक्ष भएका छन् । एमाले अखिलको विद्यार्थी राजनीतिबाट आएका अवस्थी एमाले जिल्ला सदस्य हुँदै सर्वसम्मत उपाध्यक्ष भएका हुन् ।
अवस्थीले उपाध्यक्षको पद तथा गोपनियताको शपथ खाइ सकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सोमबार पदाधिकारीलाई शपथ खुवाइएको थियो ।

‘२०४६ को आन्दोलन ताका हल्दुखालको जनसेवा माध्यमिक विद्यालयमा पढ्थे, त्यही बेला जन आन्दोलनमा सहभागी भयौ, विद्यालयमा हुने आन्दोलनका कार्यक्रममा सहभागी हुन्थ्यौ, त्यति बेला प्रहरी विद्यालयले प्रहरी बोलाएर विद्यार्थीमाथि दमन गराएको थियो’ उपाध्यक्ष अवस्थीले भने,‘त्यहीं बेलाको मोमेन्टमा लागेपछि अनेरास्वयुविमा आवद्ध भएर क्याम्पस हुँदै यहाँसम्म पुगेको छु, यसो हेर्दा मलाई जिल्ला पदाधिकारी हुन ३३ वर्ष लाग्यो ।’
भीमदत्त नगरपालिका ६ ऐठपुरका अवस्थी २०३२ मा बैतडीको पुर्चौडी नगरपालिका १० विजनगरमा जन्मिएका हुन् । उनी तीन वर्षको हुँदा अवस्थी परिवार तराई झरेको थियो ।
ऐठपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका अवस्थीले हल्दुखालको महाकाली जन सेवा माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गरेका हुन् । २०५१ मा एसएलसी उत्तीर्ण गर्न अघि उनी अखिलको राजनीतिमा होमिएका थिए ।
विद्यालयमा अखिलको प्रारम्भिक कमिटी सदस्य भएर विद्यार्थी राजनीति थालेका उनले क्याम्पसमा निरन्तरता दिए ।
एसएलसी उत्तीर्णपछि तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पस भर्ना भएका उनी २०५२ मा अखिलको क्याम्पसको सचिव भए । त्यसपछि अखिलको जिल्ला कमिटी सदस्य हुँदै सचिव भएर उनी २०५५ मा अखिलको जिल्ला अध्यक्ष भएका थिए ।
२०५७ मा अखिलको केन्द्रीय सदस्य भएका उनी सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी वहन गरेका थिए । त्यस अघि उनी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा चुनाव लडेका थिए ।
विद्यार्थी राजनीतिमा हुँदा अवस्थीले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही कु र दोस्रो जन आन्दोलनमा सक्रिय रुपमा सहभागी भए । शाही कु को विरोधमा उनी काठमाडौंको अशनबाट पक्राउ २९ दिन हिरासत राखिएका थिए । अवस्थीसंगै अखिलका तत्कालिन महासचिव ठाकुर गैरलाई २०६१ फागुन २१ गते पक्राउ गरिएको थियो ।
उनीहरु दुबैलाई पक्राउपछि सार्वजनिक सुरक्षा अन्र्तगत तीन महिना नजर राख्ने पूर्जी थमाइएको थियो । सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएपछि उनी छुटेका थिए ।
अवस्थीको अगुवाईमा महेन्द्रनगरको मदनचोकदेखि भानुचोकसम्को ज्ञानेन्द्र पथ भत्काइएको थियो । त्यसपछि उनलाई स्थानीय प्रशासनले वारेन्ट जारी गरेको थियो ।
अखिलको राजनीतिपछि उनी तत्कालिन नेकपाको जिल्ला सदस्य भएर पार्टी राजनीतिमा सक्रिय छन् । आठौं जिल्ला अधिवेशनपछि जिल्ला सदस्य भएका उनी भीमदत्त नगरपालिकाको नगर इन्चार्ज र जिल्ला सचिवालय सदस्य पनि हुन् ।
अवस्थी एमालेमा व्यवहारिक, इमान्दार र प्रष्ट वक्ता रुपमा परिचित छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षमा चुनाव लडेका थिए ।
सर्वसम्मत उपाध्यक्ष भएपछि उनले पार्टीको आन्तरिक एकतालाई बलियो बनाउने योजना बनाएर अघि बढ्ने बताए । ‘एमाले कञ्चनपुरमा आफैंमा कमजोर होइन, अन्र्तद्वन्द्व हलल गर्न नसकेर कमजोर भएको हो’ उनले भने,‘त्यसका कारण आन्तरिक एकता बलियो बनाउने गरी अघि बढ्छौ, त्यसका लागि संगठन निर्माण, पुनःनिर्माण, शुद्धिकरण, प्रशिक्षण लगायतका कार्यक्रम गरी पार्टी बलियो बनाउँछौ ।’
नेता कार्यकर्तालाई एमालेको विचारले एकताबद्ध गरी पार्टी र संगठनमा सबैलाई उचित जिम्मेवारी दिइने अवस्थी बताउँछन् । ‘कामको आधारमा, पार्टीमा योगदानको आधारमा नेता कार्यकर्ताको मूल्याङ्कन हुन्छ, अवसरवाद र अराजकतालाई अन्त्य गर्ने गरी अघि बढ्छौ’ उनले भने ।
एमाले नवौ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीले सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक बनाउने, मिसन ८४ लाई सफल बनाउने, कञ्चनपुरमा एमालेलाई पहिलो दल बनाउने लक्ष्यका साथ अघि बढ्ने अवस्थी बताउँछन् ।
नवौ अधिवेशनबाट एमाले एक ढिक्का भएको सन्देश प्रवाह भएको उनी बताउँछन् ।
‘यो अधिवेश नगत अधिवेशनमा धेरै नै फरक छ, दुई लाइन थिएन, प्रतिनिधिहरु सबै सर्वसम्मत बनाउनु पर्छ भन्नेमा थिए’ उनले भने,‘केन्द्रीय नेता र नेतृत्वमा समस्या नभएपछि तल लाइन हुने कुरा आउँदैन ।’
नवौ अधिवेशनबाट सर्वसम्मत पदाधिकारी सबैको राजनीतिक भविष्य भएकाले एमालेलाई सबैको पार्टी बनाउनुु पर्ने दबाव भएको अवस्थी बताउँछन् ।
‘अहिले हाम्रो पदाधिकारी टीम भविष्य भएको टीम हो, केही गरौ भन्ने टीम आएको छ’ उनले भने,‘यसले पनि एमालेलाई एक ढिक्का बनाएर बलियो बनाउनु सहयोग पुग्छ ।’
