
महेन्द्रनगर । बेदकोट नगरपालिकामा ५९ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मूलन दिवस मनाइएको छ । सामादैजीस्थित कोभिड अस्पतालमा सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिह थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी दिवस मनाइएको छ ।
बेदकोट नगरपालिकाले आयोजना गरेको कार्यक्रममा स्वीट नेपालसित सहकार्य गरिएको छ । कार्यक्रममा दुई ओटा ब्यानर लगाइएका छन् । ती दुबै ब्यानरमा एकै किसिमको विषय लेखिएका छन् ।
कार्यक्रममा पूर्व मन्त्री लाल बहादुर खड्का, जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, बेदकोट नगरका मेयर भोजराज बोहरा, उप मेयर तुलसी जोशी, प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी, बेदकोटका पूर्व उप मेयर सुशिला सिह लगायतका राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज लगायतका विभिन्न क्षेत्रका व्यक्ति सहभागी भएका छन् ।
कार्यक्रममा सामाजिक समानताका लागि योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ । कार्यक्रममा लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, प्रहरी नायब निरीक्षक गंगाराम विक, पत्रकारद्वय कृष्ण नेपाली र सुजित सिनाल, शेर बहादुर सार्की, डा. जीवन स्नेही, रमेश रसाइली, लक्ष्मी सुनार, कमला ओड, जानकी सार्कीलाई सम्मान गरिएको छ ।
कार्यक्रमका लागि बेदकोट नगरपालिकाले नगर सभाबाट दुई लाख बजेट विनियोजन गरेको थियो । बेदकोट नगर कार्यपालिका सदस्यले बजेटबाट कार्यक्रम गरेका हुन् ।
