

महेन्द्रनगर । एमाले कञ्चनपुरmले नवौ अधिवेशनमा सदस्यहरुमा सर्वसम्मति जुटाएको छ । पदाधिकारीमा सहमति जुटाएर शपथ खुवाएको पाँच दिनपछि जिल्ला कमिटी सदस्यहरुको टुङ्गो लागेको हो ।
निर्वाचन समितिले सदस्यहरुको नामावली घोषणा गरेको छ । केही समयपछि पार्टी कार्यालयमा उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाउने तयारी गरिएको छ ।


एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको बताए । पदाधिकारीलाई चैत ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शपथ खुवाइएको थियो ।
एमाले कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले सदस्यहरुलाई शपथ खुवाउने छिन् । यस अघि एमाले पदाधिकारीलाई बुढाले शपथ खुवाएको थिइन् ।
निर्वाचन मण्डलले पदाधिकारी र सदस्य सबैको उम्मेदवारी फिर्ता गर्न लगाएर सहमतिमा पदाधिकारी र सदस्य टुङ्गो लगाएको हो । अहिले सदस्यहरु शपथ ग्रहणका लागि पार्टी कार्यालय पुगेका छन् ।
शपथ ग्रहणका लागि पार्टी कार्यालय पुगेका जिल्ला सदस्य लक्ष्मी भट्टले आफूलाई पार्टीले विश्वास गरी सदस्य बनाएकाले त्यस अनुसार जिम्मेवारी वहन गर्ने बताए ।

