
महेन्द्रनगर । एमाले सम्बद्ध अनेरास्ववियुले स्थायी कमिटी सदस्य रक्षा बमलाई निलम्बन गरेको छ । आपराधिक लाभ लिएको अभियोगमा प्रहरीले पक्राउ गरेपछि बमलाई निलम्बन गरेको हो ।
संगठनका अध्यक्ष समिक बडालले उनलाई निलम्बन गरिएको विज्ञप्तिमार्फत् जानकारी दिएका हुन् । ‘अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम उपर परेको उजुरीमा प्रहरी अनुसन्धान भइरहेको भन्ने समाचार प्रकाशित भएकोमा उक्त प्रक्रियामा निष्पक्ष अनुसन्धानको गर्न नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरुमाथि उजुरी परेकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने र उनको चरित्र हत्या गर्ने कार्य भइरहकाप्रति संगठनको ध्यानाकर्षण भएका विज्ञप्तिमा उल्लेख छ ।
‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।
यो प्रक्रिया अवधिभर रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौं,’ अध्यक्ष बडालले भनेका छन् । बमलाई आपराधिक लाभ लिएको उजुरीको आधारमा मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
