
महेन्द्रनगर । सत्तारुढ माओवादी केन्द्रका केन्द्रीय सदस्यहरूले बिना मगरलाई सह–इन्चार्ज नमान्ने भन्दै बैठक बहिष्कार गरेका छन् । जुनियरलाई सह–ईन्चार्ज बनाएको विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् ।
नेताहरु धर्मराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सह–ईन्चार्जमा मगरलाई जिम्मेवारी तोकिएको थियो ।

प्रदेश इन्चार्ज पोख्रेल, सह–ईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् ।
गत स्थायी समितिको प्रदेशको सङ्गठन सम्बन्धी गरेको निर्णयमा असहमति जनाउँदै उक्त निर्णय नसच्चिएको भन्दै बैठक बहिष्कार गरेको धर्मराज भट्टराईले जानकारी दिए ।
