

महेन्द्रंनगर । भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले शनिबार हार्डवेयर तथा निर्माण सामाग्री व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा गरेको भाषणले चर्चा पाएको छ । मेयर बोगटीको भाषण अहिले सामाजिक सञ्चाजमा भाइरल बनेको छ ।
मेयर बोगटीले स्थानीय प्रशासनले सार्वजनिक जग्गाको अतिक्रमण हटाउने विषयलाई लिएर कार्यक्रममा दमदार भाषण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि बोगटीले भाषण गर्ने क्रममा सहभागीहरुले पटक पटक ताली बजाएका थिए ।

जिल्ला प्रशासन कार्यालयले आफ्ना अगाडिका खोका छाप्रा हटाउन नसकेकोदेखि बाल मन्दिर र नेशनल ट्रेडिङ्गले जग्गा भाडामा दिएर अहिले अतिक्रमण भनेर वस्ती खाली गर्न लगाउन लगायतका विषयलाई मेयर बोगटीले आफ्नो भाषणमा प्राथमिकता दिएका छन् ।
उनले प्रशासन कार्यालयका अगाडिका खोकालाई आफूले नगर प्रहरी लगाएर खाली गरेको बताए । उनी प्रमुख अतिथि भएको कार्यक्रममा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी विशिष्ठ अतिथि थिए ।

नेपाल बाल संगठन र खाद्या सामाग्री तथा व्यापार कम्पनी लिमिटेडले आफ्ना जग्गा खाली गर्न सूचना लगाएका छन् । ती सूचनाप्रति असन्तुष्टि पोख्दै मेयर बोगटीले आफैंले जग्गा भाडामा दिएर अहिले अतिक्रमण गरेको भन्दै सूचना टाँस गरिएको बताए ।
ती दुबै निकायले जग्गा भाडामा दिएर बस्न लगाएको उल्लेख गर्दै उनले अहिले बालबालिकाले एसईई दिई रहेको अवस्थामा एकाएक सूचना टाँस गरी आतंक सिर्जना गर्न खोजिएको बताए ।
उनले आफू सधंै प्रजातन्त्रका लागि लडेको उल्लेख गर्दै प्रशासन कार्यालयले चैत २२ गते राखेको सर्बदलीय बैठकमा आफैं जाने बताए ।
यस अघि प्रशासन कार्यालयले राखेको सर्बदलीय बैठकले अतिक्रमण क्षेत्र खाली गर्ने निर्णय गरेको थियो । बैठकको निर्णयपछि बाल संगठन र व्यापार कम्पनीको जग्गामा बस्दै आएका वासिन्दालाई हटाउन सूचना टाँस गरिएको छ ।
केही दिन अघि प्रमुख जिल्ला अधिकारी सहितको टोलीले त्यस क्षेत्रमा अनुगमन गरेको थियो ।

