ghar sansar

विविध कार्यक्रम सहित मनाइयो ६७ औं राष्ट्रिय सहकारी दिवस

महेन्द्रनगर । सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएको छ । भीमदत्त नगर स्तरीय सहकारी सञ्जालले मंगलबार प्रभातफेरि, अन्र्तक्रिया, सम्मान लगायतका कार्यक्रम दिवस मनाएको छ ।

मंगलबार विहान महेन्द्रनगर बजार क्षेत्रमा प्रभातफेरि गरिएको छ । भीमदत्त नगरपालिकाबाट सुरु प्रभातफेरि बजार परिक्रमा गरी भानु पार्टी प्यालेशमा औपचारिक कार्यक्रममा परिणत भयो ।

भानु पार्टी प्यालेशमा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ । कार्यक्रममा जनप्रतिनिधि, सहकारी संघका पदाधिकारी, सहकारकर्मी लगायतका सहभागी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मेयर बोगटीले शिव शिखर सहकारी संस्थाहरुले प्रचलित नियम कानुनको परिधिभित्र रहेर कारोबार गर्न पर्ने उल्लेख गर्दै त्यस बाहिर गएमा समस्या हुने बताए ।

मेयर बोगटीले बचतकर्ताको करोडौ रकम अपचलन गरी बन्द शिव शिखर सहकारी संस्थाको अध्ययनका लागि काशीराज दाहाल नेतृत्वको टीम नगरपालिका आएको र आफूले त्यसबारे कुराकानी गरेको बताए ।

‘त्यो शिव शिखरमा ५० हजारदेखि एक लाख, दुई लाख हुँदै करोडौ बचत गरेका बचतकर्ता छन्, मैले केही दिन अघि नगरपालिकाबाट त्यो सहकारीको अध्ययनका लागि बनाएको टीमसित कुराकानी गरेको छु’ उनले भने,‘कम बचत हुने व्यक्तिले त्यो सहकारीको मलमा भएको समान लिएर पनि अशुल गर्दा हुन्छ ।’

भीमदत्त नगरपालिकाले सहकारी संस्थालाई व्यवस्थित बनाउन सधैै अनुगमन गरिने मेयर बोगटीले उल्लेख गरे । उनले सहकारी सञ्जालसित आगामी दिनमा सहकार्यलाई निरन्तरता दिनेमा जोड दिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले सहकारी संस्थालाई मर्जरका लागि पहल गरिने बताइन् । उनले सहकारी संस्थाको कारोबार पारदर्शी हुनु पर्ने बताइन् ।

राष्ट्रिय सहकारी संघका सञ्चालक माधव प्रसाद जोशीले सहकारी संस्था कानुनी परिधिभित्र राखेर सञ्चालन हुनु पर्नेमा जोड दिए ।

भीमदत्त नगरपालिका क्षेत्रमा ८६ सुहकारी छन् । भीमदत्त नगरपालिकाको सहयोगमा सहकारी दिवस कार्यक्रम गरिएको छ ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भवानी चन्द, कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष निरञ्जन प्रसाद भट्ट लगायतले शुभ कामना मन्तव्य राखे ।

भीमदत्त नगर सहकारी सञ्चालका अध्यक्ष ईश्वरी प्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उप प्राध्यापक टिकाराम खरेलले सहकारी सम्बन्धि कार्यपत्र प्रस्तुत गरे । सुदूरपश्चिम विशिष्ठकृत सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द र जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष प्रेम सिह भाटले कार्यपत्रमाथि टिप्पणी गरे ।

कार्यक्रममा विभिन्न सहकारी संस्थालाई सम्मान प्रदान गरिएको छ । हरियाली कृषि बहुउद्देश्यीय सहकारी संस्था लि., सृजनतात्मक बचत तथा ऋण सहकारी संस्था लि., कैलपाल कृषि सहकारी संस्था लि. र सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.लाई सम्मान पत्र प्रदान गरिएको छ ।

यसैगरी कार्यक्रममा सहकारी अभियानकर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको छ । उनीहरुमा दिपज्योति महिला कृषि सहकारी संस्था लि.का अध्यक्ष बिमला भट्ट, सुदूरपश्चिम विशिष्ठ एकीकृत सहकारी संघका अध्यक्ष गणेश बहादुर चन्द र राष्ट्रिय सहकारी संघका सञ्चालक माधव प्रसाद जोशी छन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी विकास बैंकका प्रबन्धक नविन क्षेत्री, भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट लगायतका सहभागी भएका छन् ।

भीमदत्त नगर सहकारी सञ्जालका उपाध्यक्ष प्रताप सिह साउँदले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव मोहन बहादुर चन्दले गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...