ghar sansar

भीमदत्तमै छ यस्तो सरकारी विद्यालय, जसले नगरपालिकाले नदिएपछि आफ्नै स्रोतबाट खुवायो कर्मचारीलाई तलब

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयका कर्मचारी(लेखापाल र परिचर) शुक्रबार तलब भत्ता निकासाका लागि नगरपालिका कार्यालय पुगे । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाईमा नगरपालिका आएका उनीहरुले प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमलाई कार्यकक्षमा भेटेर आफ्नो पीडा सुनाए । प्रमुख प्रशासकीय अधिकृत बमको आश्वासनपछि उनीहरु फर्किए ।

भीमदत्त नगरपालिकाले ६ महिनादेखि विद्यालय कर्मचारीको तलब नदिएपछि उनीहरु दबावका लागि कार्यालय आएका हुन् । तलबका लागि उनीहरु यस अघि पनि नगरपालिका आइ सकेका छन् ।

भीमदत्तमा ६ महिनादेखि तलब नपाउने विद्यालय कर्मचारी ६० जना भन्दा बढी छन् । नगरपालिकामा आउनेमा भीमदत्त नगरपालिका १८ गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालय बाहेक अन्य विद्यालयका कर्मचारी छन् ।

निङ्गलाशैनी माध्यमिक विद्यालयले नगरपालिकाले तलब नदिएपछि आफ्नै स्रोतबाट विद्यालय कर्मचारीलाई तलब खुवाएको हो । विद्यालयले तलब खुवाएपछि उनीहरु नगरपालिका नआएका हुन् ।

निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद भट्टले विद्यालयले आन्तरिक स्र्रोतबाट लेखापाल, परिचर र बाल विकास सहयोगीलाई तलब खुवाएको बताए ।

‘नगरपालिकाले पठाएको तलब सबैलाई खुवाउँदा लेखापाल, परिचर, बाल विकासको आएको थिएन, त्यसैले विद्यालयको स्रोतबाट तलब खुवाएका हौ’ उनले भने ।

विद्यालयमा दुई बाल विकास सहयोगी कार्यकर्ता, दुई परिचर र एक जना लेखापाल छन् । विद्यालयले यस अघि पनि नगरपालिकाबाट तलब नआएपछि आन्तरिक स्रोतबाट खुवाउने गरेको अध्यक्ष भट्टले बताए ।

भीमदत्तले स्थानीय सरकारले दिनु पर्ने सात हजार तलब ६ महिनादेखि नदिएको हो । संघ सरकारले दिने तलब भने विद्यालय कर्मचाररीले पाई सकेका छन् । गत वर्ष संघ सरकारले दिने तलबमा स्थानीय सरकारले सात हजार थप गरी खुवाउने जिम्मा दिइएको थियो ।

भीमदत्तले गत वर्ष सरकारी निर्णय अनुसार तलब दिएको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तलब उपलब्ध गराए पनि त्यसपछि हालसम्म तलब नदिएको विद्यालय कर्मचारी परिषद् भीमदत्त नगर अध्यक्ष रमेश बहादुर खड्काले बताए ।

‘विद्यालय कर्मचारीले संघ सरकारबाट १३ हजार ५ सय, सात हजार स्थानीय सरकारबाट तलब पाउँछन्, यो गत वर्षदेखि लागू भएको हो’ नगर अध्यक्ष खड्काले भने,‘यस वर्ष यस अघि तीन महिनाको तलब दिइएको छ, तर त्यसपछि ६ महिनासम्मको तलब दिइएको छैन ।’

नगरपालिकाले संघ सरकारले दिने तलबलाई भने निकासा गरी आफूहरुले पाई सकेको खड्काले बताए ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमले विद्यालय कर्मचारीलाई तलब खुवाउने मालपोत राजश्व बाँडफाँट शीर्षकको राजश्व नआएका कारण तलब खुवाउन नसकिएको बताए ।

‘वहाँहरुलाई मालपोत राजश्व बाँडफाँट शीर्षकबाट तलब खुवाउने गरिएको छ, त्यो पैसा आएको छैन, पैसा आएपछि छिटो तलब खुवाउँछौ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...