

महेन्द्रनगर । राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल (एन प्याब्सन) कञ्चनपुरको अध्यक्षमा सत्येश बहादुर चन्द निर्विरोध भएका छन । एन प्याब्सनको छैठौ अधिवेशाबाट चन्द सर्वसम्मत अध्यक्षमा चयन गरिएका हु्न् । चन्द एन प्याब्सनका केन्द्रीय सदस्य हुन् ।
छैठौ अधिवेशनमा अध्यक्षमा चन्द सहित बलदेब भट्ट र बीर बहादुर चन्दको उम्मेदवारी थियो । भट्ट र चन्द दुबै जनाले अध्यक्ष नछाड्ने अडान लिएपछि शनिबार मध्यराति अध्यक्षका अर्का उम्मेदवार केन्द्रीय सदस्य चन्दलाई नेतृत्वमा सहमति गरिएको हो । यस अघि पाँचौ अधिवेशनमा एन प्याब्सन चुनावमा जिल्ला नेतृत्व चयन गरिएको थियो ।


पाँचौ अधिवेशनमा चन्द निवर्तमान अध्यक्ष झंकरराज जोशीसित अध्यक्षमा पराजित भएका थिए । अघिल्लो पटक पराजित भएकाले चन्दले आफूले नेतृत्व पाउनु पर्ने अडान लिएका थिए ।
एन प्याब्सन देशभरमा कास्कीपछि कञ्चनपुरमा बलियो मानिन्छ । कञ्चनपुरका श्याम सिह मौनी एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष छन् । चुनाव गरी नेतृत्व चयन गर्दा संगठन कमजोर हुने भएकाले केन्द्रीय पदाधिकारी सहित सबैले सहमतिमा चन्दलाई अध्यक्ष बनाएर सर्वसम्मत जिल्ला समिति चयन गरिएको हो ।
चन्द प्याब्सन कञ्चनपुरको अध्यक्ष छाडेर एन प्याब्सन अध्यक्ष भएका हुन् । अहिले उनी फेरि केन्द्रीय सदस्यको जिम्मेवारी हुँदा जिल्ला अध्यक्ष भएका हुन् ।
एन प्याब्सनको वरिष्ठ उपाध्यक्षमा बलदेव भट्ट, उपाध्यक्ष नरेन्द्र महता, सचिव कुबेर खडका, सह सचिव सुरेन्द्रराज जोशी, कोषाध्यक्ष सुर्य बहादुर चन्द, सह कोषाध्यक्ष निलम आले गुरुङ्ग चयन भएका छन् । समितिमा सरस्वती चन्द, तिलक सिह भाट, हर्कराज जोशी, नरेन्द्र चन्द, राजेन्द्र पाण्डेय, कोकिला चन्द सदस्य छन् ।
