
महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको बैठकमा अचम्मको दृष्य देखिएको छ । बैठक सुरु भएपछि कार्यपालिका सदस्यले आफ्नो आशन छाडेर नेम प्लेट लगेर भुईमा बसेका छन् ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटाले बैठकको सुरुवातमा राखेका मागलाई वेवास्ता गरिएपछि उनी भुईमा बसेका हुन् ।
कार्य पालिका बैठकमा सुरु भएपछि उनले नगरपालिका कार्यालयका कामकाज छिटो छरितो हुनु पर्ने, वडाका कामलाई सहज बनाइनु पर्ने, कार्यपालिका बैठकलाई लाइभ गरिनु पर्ने लगायतका माग राखेका थिए ।
राष्ट्रिय गीतपछि देवकोटाले राखेका मागलाई वेवास्ता गरी बैठक सञ्चालन गर्न खोजिएपछि उनी आशन छाडेर भुँईमा बसेका हुन् । बैठकमा सहभागीका अनुसार देबकोटा १५–२० मिनेट भुईमा बसे । मेयर पदम बोगटीले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि उनी भुँई छाडेर आशनमा फर्किएका हुन् ।
‘कार्यालयका काम छिटो छरियो बनाउनु पर्ने, स्थापना दिवसमा भने अनुसारको मुस्कान सहितको सेवा, पार्कको होली कार्यक्रमको राजश्व, वडा कार्यालयका कामकाज सहज बनाउनु पर्ने र बैठक लाइभ गर्नु पर्ने लगायतका माग राखेका थिए, त्यसलाई सुन्न खोजेनन, त्यसपसिछ नेमप्लेट लिएर भुईमा बसेको हुँँ’ वडा अध्यक्ष देवकोटाले भने ।
वडा अध्यक्ष भुँईमा बसेपछि कार्यपालिका बैठकमा केही समय सन्नाटा छायो । उनी भुँईमा बसेपछि बैठकका सबै कामकाज रोकिन पुगेका थिए ।
भीमदत्तको कार्यपालिका बैठकमा पहिलो पटक कार्य पालिका सदस्य भुँईमा बसेको कार्यपालिका सदस्यहरुले बताए । देबकोटा २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
