

महेन्द्रनगर । नेकपा(एमाले) कञ्चनपुरले जनकराज अवस्थीलाई प्रचार विभाग प्रमुख बनाएको छ । एमाले कञ्चनपुरको बिहीबार बसेको पूर्ण जिल्ला कमिटी बैठकले उपाध्यक्ष अवस्थीलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।
अवस्थी एमाले कञ्चनपुरको नवौ जिल्ला अधिवेशनबाट सर्वसम्मत उपाध्यक्ष भएका हुन् । एमालेमा विद्यार्थीबाट राजनीतिमा आएका अवस्थी पत्रकारितामा आवद्ध भएका थिए ।


एमालेमा यस अघि पत्रकारिता पुष्ठभूमिका निवर्तमान उप सचिव कर्ण बहादुर चन्द प्रचार विभाग प्रमुख थिए । चन्द अघि तत्कालिन उप सचिव रण बहादुर महरा प्रचार विभाग प्रमुख थिए ।
नवौ अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको बिहीबार पहिलो पूर्ण बैठक बसेको हो । बैठकमा पदाधिकारी र सदस्यहरुको कार्य विभाजन गरिएको छ । बैठकबाट ८ सदस्य पछि थप्ने गरी जिल्ला सचिवालय गठन गरिएको छ । एमाले जिल्ला अध्यक्ष लक्ष्मी बुढाको अध्यक्षतामा बैठक बसेको छ ।
बैठकमा एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज नारदमुनि राना, पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, केन्द्रीय सदस्यहरु नर बहादुर धामी, कृपाराम राना, एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका छन् ।

