महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १३ ले डे नाइट कप डे नाइट टी १० मेयर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनमा वडाको टीमलाई अयोग्य(डिस्क्वालिफाई) गर्ने अम्यापरको निर्णय छानबिनका लागि प्रतियोगिता संयोजकलाई अनुरोध गरेको छ ।
भीनपा १३ का कार्य वाहक अध्यक्ष बालादेबी नाथाले मंगलबार प्रतियोगिता संयोजकलाई सत्यतथ्य छानबिनको माग राखेर पत्र पठाउँदै छानबिनसम्मका लागि प्रतियोगिता स्थगित गर्न अनुरोध पत्र पठाएकी हुन् ।
भीमदत्त नगरपालिकाले ११ ले आयोजना गरि रहेको क्रिकेट प्रतियोगितामा सोमबार भीनपा १३ र ६ बीच भई रहेको सेमिफाइन खेलमा विवाद भएपछि अम्पायरले १३ नम्बर वडाको टीमलाई अयोग्य घोषणा गरेका थिए । वडा कार्यालयले संयोजकलाई पठाएको पत्रमा अम्पायरले विना कारण अयोग्य घोषणा गरेको उल्लेख गरिएको छ ।
खेलमा विवाद भएपछि केही समय स्थगित खेल सुरु भएपछि अम्पायरले ब्याटसमेन ढिलो आएको भन्दै १३ नम्बर वडाको टीमलाई खेल मैदानबाट बाहिर पठाएका थिए । वडा कार्यालयले विना कारण खेलाडीलाई बाहिर पठाएको भन्दै सत्यतथ्य छानबिनका लागि प्रतियोगिता संयोजकलाई पत्र पठाएको हो ।
भीनपा १३ ले ६ नम्बर वडाको टीमबाट वडा बाहिरका खेलाडीलाई समेत सहभागी गराएकाले त्यसको पनि छानबिन गर्न माग अघि सारेको छ । ६ नम्बर वडाको टीमबाट होटेल ओपेराको सीएमजी क्लब र नेपाल पुलिसका खेलाडीहरु समेत नियम विपरित सहभागी गरिएकाले छानबिनको माग गरिएको छ ।
प्रतियोगिताका संयोजकलाई पठाएको अनुरोध पत्रमा १३ नम्बर वडा कार्यालयको टीमलाई क्रिकेट कार्यविधिको कुन दफा अनुसार अयोग्य घोषणा गरिएको हो, त्यसको छानबिन गर्न माग गरिएको छ ।
वडा कार्यालयले पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट संघलाई पठाउँदै छानबिनका लागि आवश्यक पहल गरि दिन आग्रह गरेको छ ।