महेन्द्रनगर । सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएपछि एमालेले तत्काल सरकारमा सहभागी नहुने मनसाय बनाएको छ ।
समाजवादी संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा रोक्न अन्तिमसम्म सक्रिय एमाले बिहीबार दिउँसो सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको थियो । एमालेले समाजवादीबाट सोडारी बाहेकलाई मुख्यमन्त्री बनाउनु पर्ने दबाव दिएको थियो ।
समाजवादीले सत्ता गठबन्धन छाड्ने अवस्था आएपछि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको हो । मुख्यमन्त्रीमा समर्थनपछि एमाले तत्काल सरकारमा भने नजाने भएको हो ।
एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावलले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिएको बताए ।
‘अहिलेलाई समर्थन गर्ने र बाहिरबाट सहयोग गर्ने निर्णय गरेका छौँ ’ उनले भने, ‘अर्को निर्णय नहुँदा सम्म सरकारमा सहभागी नहुने निर्णय गरेका छौँ ।’
एमाले, माओवादी केन्द्रका १०÷१०, समाजवादीका ४, नागरिक उन्मुक्ति(रन्जिता ) समूहका दुई र स्वतन्त्र साँसदको समर्थनमा सोडारीलाई प्रदेश प्रमुख नजिर मिँयाले मुख्यमन्त्री नियुक्त गरेका हुन् । सोडारीले पद तथा गोपनियताको शपथ लिएका छन् ।